झापामा ड्रोन प्रयोग गरी जोखिम क्षेत्रको निगरानी
बिर्तामोड । बंगालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम निगरानी र उद्धार कार्यका लागि ड्रोन प्रयोगमा ल्याएको हो ।
डिभिजन वन कार्यालयसँग समन्वय गरी प्रयोगमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने क्षेत्रको निगरानी गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको बताए । 'जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार र प्रतिकार्य अघि बढाइनेछ,' उनले भने ।
उनका अनुसार गौरादह गाउँपालिकाका वडा नं. १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं. १ र २ का ६९५ गरी एक हजार १६९ घरपरिवार डुबानको जोखिममा छन् । सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ तथा सशस्त्र प्रहरीका उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।
प्रजिअ पोखरेलका अनुसार जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट नियमित अनुगमन तथा निरीक्षण भइरहेको छ । शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतरा तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो । ती नदी क्षेत्रमा तीनवटा साइरन जडान गरिएको र साँझतिर जलसतह घटेको उनले जानकारी दिए ।
'इलाम क्षेत्रमा भारी वर्षा भएपश्चात त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले त्यसलाई आधार बनाएर साइरन बजाउने र अर्ली वार्निङ सिस्टममार्फत जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,' उनले भने ।