ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, १७ परिवार विस्थापित
बिर्तामोड । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।
आगलागीबाट ८ जना घरधनीका १० वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १७ घरपरिवार विस्थापित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङका अनुसार दिउँसो १ः३६ बजे सुरु भएको आगो सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहीबार अपराह्न नियन्त्रणमा लिइएको हो ।
आगलागीका कारण घरधनी ८ र डेरा गरी बस्ने ९ गरी कुल १७ परिवार विस्थापित भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बस्तीमा फैलिएको आगो अन्यत्र सल्कन नदिन र जोगाउने प्रयास गर्दा केही घरहरू पूर्ण र केही आंशिक रूपमा भत्काउनुपरेको जानकारी दिए ।
आगलागीबाट लाक्पाचुङ शेर्पा (डण्डु) र भीम लङ्वाका दुई÷दुईवटा घर जलेका छन् । त्यस्तै चन्द्रप्रसाद पौडेल, याम आङवुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलका एक÷एक वटा घर जलेर नष्ट भएको रेडक्रसले जनाएको छ ।
आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेनाको दुर्गादल गुल्म, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दोभान, सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वार्टर कञ्चनजंघाका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा परिचालित भएका थिए ।
सुरक्षा अधिकारीहरू एकै ठाउँमा जुटेर रणनीति बनाइरहेकै बेला दोभानमा आगलागीको खबर प्राप्त हुनासाथ तत्कालै दमकल र सम्पूर्ण सुरक्षा टोली घटनास्थलतर्फ परिचालन गर्न सहज भएको प्रजिअ उमेशकुमार दाहालले बताए ।
आगलागी नियन्त्रणमा आएलगत्तै पीडितहरूको वास्तविक अवस्था बुझ्न तथा राहत र उद्धार कार्यलाई तीव्रता दिन प्रजिअ दाहालको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको टोली दोभान बजार पुगेको छ ।
तमोर नदी र मैवाखोलाको संगमस्थलमा रहेको दोभान बजार ताप्लेजुङकै बाक्लो र दोस्रो ठूलो बजार हो। यहाँ एकाध बाहेक प्रायः सबै घरहरू काठ र जस्तापाताले बनेका छन् ।
यस बजारमा २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी हुँदा करिब ४० वटा घर जलेर खरानी भएका थिए । तमोर र मैवाखोलाको कटान जोखिम झेलिरहेको यस बजारमा निरन्तर झरी परिरहेकै समयमा फेरि आगलागीको ठूलो विपद् आइपरेको हो ।