भोटेकोशी बाढी प्रभावितहरुलाई इक्यान झापाद्वारा १० लाख सहयोग
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले विपद्मा परेका नागरिकका लागि १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा संकलित उक्त रकम सम्बन्धित विपद् राहत कार्यमा हस्तान्तरण गरिएको हो ।
इक्यान झापा सीएसआर विभाग प्रमुख तथा इक्यान झापाको उपाध्यक्ष अशोक भण्डारीले सामाजिक उत्तरदायित्वलाई संस्थागत अभियानका रूपमा अघि बढाउन तथा सदस्यहरूलाई मानवीय सहयोगमा जोड्न आफुहरुले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्धेश्यले सहयोग गरेको जानकारी दिए । भण्डारीको समन्वयमा सीएसआर समितिले सदस्यहरूबाट सहयोग जुटाउने, संकलित रकमलाई पारदर्शी रूपमा व्यवस्थापन गर्ने र आवश्यकता भएका क्षेत्रमा पुर्याउने प्रक्रियालाई अघि बढाएको हो ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । रकम जम्मा गरिएको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खंड्कालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।