२०८३ आश्विन ३ गते , शनिबार

पर्यटन प्रवर्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन २ गते , शुक्रबार
पर्यटन प्रवर्धन गर्न नेपाल र भारतका व्यवसायीबीच सम्झौता


मदारीहाट (भारत) । नेपाल-भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीबीच 'बी-टु-बी' समझदारी भएको छ । ट्राभल मञ्च झापा र इस्टर्न डुवर्स टुरिजम डेभलपमेन्ट एसोसिएसनबीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाका प्रमुख प्रतिनिधिहरूले पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र भारत अलिपुरद्वार क्षेत्रका केन्द्रीय सांसद मनोज तिग्गाको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
​मंगलबार र बुधबार भारतको पश्चिम बंगाल राज्यको जल्दापाडा नेशनल पार्क, अलिपुरद्वार मदारीहाटमा सम्पन्न 'कुरा पर्यटन' को नाम दिइएको 'इन्डो–नेपाल टुरिजम मिट २०२६' को अवसरमा भएको सम्झौतामा नेपालका तर्फबाट ट्राभल मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव नवराज (नवीन) खरेल तथा इस्टर्न डुवर्स टुरिजम डेभलपमेन्ट एसोसिएसनका तर्फबाट अध्यक्ष गोपाल सन्यासी र सचिव विश्वजीत साहाले हस्ताक्षर गर्दै पर्यटन प्रवर्धनको औपचारिक सहकार्य सुरु गरेका हुन् ।
​नेपाल र भारतका पर्यटन व्यवसायीहरूले दुवै देशमा पर्यटकको आगमन बढाउन र पर्यटन प्रवर्धनका लागि विभिन्न फोरम तथा व्यावसायिक सञ्जालमार्फत सहकार्य गर्दै एक ठाउँमा उभिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशबीचको धार्मिक, सांस्कृतिक र भौगोलिक निकटतालाई सदुपयोग गर्दै पर्यटक भित्र्याउन व्यवसायीहरूले यस अघि पनि संयुक्त प्रयासहरू गरिरहेका थिए ।
​सहमति पत्रमा दुई देशीय कार्यक्रम गर्दा संयुक्त रूपमा आयोजना गर्ने, दुवै तर्फका प्रतिनिधि रहने गरी तीन देखि पाँच सदस्यीय बोर्ड गठन गर्ने, दुई देशका पर्यटकहरूको सुविधाका लागि संयुक्त रूपमा काम गर्ने लगायतका विषयहरू समावेश गरिएको ट्राभल मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । यो सम्झौतासँगै नेपालका ऐतिहासिक पर्यटकीय र धार्मिक स्थलको अवलोकनका लागि भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्ने ट्राभल मञ्च झापाका सचिव नवराज (नवीन) खरेलले बताए ।
​इस्टर्न डुवर्स टुरिजम डेभलपमेन्ट एसोसिएसन सचिव विश्वजीत साहाले भारतमा चाहेर पनि नजिकै रहेको नेपालबाट नै सोचेजति पर्यटक आउन नसकेको अवस्थामा अब सम्झौता पछि दुवै देशका व्यवसायी बसेर विभिन्न कार्यक्रम बनाई प्रचार गरेपछि नेपाल–भारतमा पर्यटकको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । नेपालमा पनि भारतीय पर्यटक उत्तिकै जाने सचिव साहाले बताए । उनका अनुसार दुई देशका व्यवसायीले पर्यटन प्रवर्धनका लागि विभिन्न योजना बनाएर अब दुवै देशमा काम गर्नेछन् । कोशी प्रदेशमा अथाह प्राकृतिक क्षेत्र, ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र छन्, यसको प्रचार र प्रवर्धनको योजना नहुँदा धेरै पर्यटक काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत पुग्ने झापाका पर्यटन व्यवसायीहरूले बताएका छन् । अब यी दुई संस्थाबीचको सम्झौताबाट कोशी प्रदेशका ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र पनि पर्ने, यसले यहाँका पर्यटन व्यवसायीहरूलाई धेरै फाइदा पुग्ने बताइएको छ ।
​टुरिजम फोरम झापा र इस्टर्न डुवर्स टुरिजम डेभलपमेन्ट एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद मनोज तिग्गाले जल्दापाडा र बक्सा टाइगर रिजर्भ मात्र नभएर अन्य क्षेत्र समेत नेपाली पर्यटकका लागि आकर्षण बन्ने बताए । सांसद तिग्गाले बक्सामा बाघ ल्याउने तयारी भएको र बाघ नै ल्याएपछि पर्यटकको आकर्षण बढ्ने विश्वास व्यक्त गरे । जल्दापाडाको विकासका लागि राज्य र केन्द्रीय सरकारको योजना चलिरहेको स्पष्ट पारे । सरकार यहाँको पर्यटन विकासका लागि द्रुतगतिमा काम गरिरहेको भन्दै उनले अब घुम्नका लागि स्विट्जरल्यान्ड जानु नपर्ने र स्विट्जरल्यान्ड हेर्नका लागि अलिपुरद्वार जिल्ला आए हुने उनले स्पष्ट पारे ।
​अलिपुरद्वार, कुचबिहार, जलपाईगुडी र सिलिगुडीलाई मिलाएर एक सर्किट पर्यटन योजनाको तयारीमा केन्द्रीय तथा राज्य सरकार रहेको सांसद तिग्गाले बताए । अब यसमा नेपाल पनि जोडिएकाले अरू फाइदा पुग्ने उनको विश्वास छ । अब अलिपुरद्वारले चाँडै पूर्ण रूपमा विकासको फड्को मार्ने बताए । सांसद तिग्गाले यहाँ मेडिकल कलेज, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ठोकुवा गरे । दुईवटा वन्यजन्तु आरक्ष केन्द्र यस अघि नै रहेका कारण यहाँ पर्यटकहरू आउने गरेको उनको भनाइ थियो । यहाँ आउने पर्यटकहरूको संख्या वृद्धि गर्न सके आर्थिक समृद्धि समेत वृद्धि हुने र रोजगारको अवसर प्राप्त हुने उनको भनाइ छ ।
​पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडाले यस्ता सम्मेलनले दुवै देशलाई फाइदा पुग्ने बताउँदै यसका लागि दुवै देशका सम्बन्धित र सरोकारवालाहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
​पर्यटनले देशको अर्थतन्त्रमा निकै ठुलो भूमिका खेल्ने भएकाले जति धेरै पर्यटक भित्र्याउन सक्यो उति नै सबै क्षेत्रको अर्थतन्त्र चलायमान हुने भएकाले पर्यटकीय क्षेत्र पर्यटनमैत्री बन्नुपर्ने उनको भनाइ छ । यसका लागि त्यस क्षेत्रको पूर्वाधार तथा भौतिक संरचना मजबुत बन्नुपर्ने र प्रचारप्रसार व्यापक हुनुपर्ने बताए । देशको समृद्धि र दिगो आर्थिक विकासका लागि पर्यटन क्षेत्रको सशक्त विकास अपरिहार्य रहेको खतिवडाले स्पष्ट पारे ।
​सबै देश कला, संस्कृति र मौलिक सम्पदाले परिपूर्ण भएकाले यी सम्पदाको संरक्षण र प्रवर्धनमार्फत पर्यटन विकासलाई नयाँ उचाइमा पुऱ्याउन सकिने खतिवडाको तर्क थियो । "पर्यटन केवल आर्थिक मेरुदण्ड मात्र नभएर स्थानीय समुदायको जीवनस्तर उकास्ने प्रमुख आधार पनि हो," खतिवडाले भने । पर्यटन क्षेत्रको विकाससँगै मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै सरकार र निजी क्षेत्र बिचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा उनले राखे ।
​उनले पर्यटनका सम्भावना, चुनौती र उपलब्धिहरूलाई जनस्तरसम्म पुऱ्याउन सबै क्षेत्र अझ जिम्मेवार भूमिकामा रहनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार