रसुवा बाढीको वितण्डा : १५७ जनाको शव भेटियो, खर्बौको भौतिक संरचना ध्वस्त
झापा । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ । राति ११ः५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ ।
त्यस्तै बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
जसअनुसार २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, घ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन् ।
रसुवा, धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् ।
बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।
बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् ।
रसुवा बाढीका कारण ४ सय ३ पर्यटक सम्पर्कविहीन भएका छन्, जसमा ३ सय ४१ विदेशी र ६२ नेपाली छन् ।
सम्पर्कविहीनमध्ये २ सय ३ पुरुष र २ सय महिला छन् ।
सबैभन्दा धेरै १ सय ३३ भारतीय पर्यटक बेपत्ता भएका छन्, त्यसपछि अमेरिकी ४७, अस्ट्रेलिया ३४ र बेलायती ३३ जना छन् ।
अर्थतन्त्रमा २ खर्बमाथिको क्षतिको प्रारम्भिक अनुमान
सरकारको प्रारम्भिक अनुमान अनुसार बुधबारको बाढीले अर्थतन्त्रमा २ खर्बमाथिको क्षति गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्बमाथिको क्षति अनुमान गरिएको छ ।
उनका अनुसार बाढीले पूर्वाधारमा व्यापक क्षति गरेको छ । सरकारले पुल र सडक निर्माणलाई प्राथमिकता दिने उनले बतए । बाढीले सडक र पुलबाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ ।
विपत जोखिम प्राधिकरणको बुधबार राती साढे ११ बजेसम्मको अपडेट अनुसार ३५ वटा पक्की पुल र ४५ वटा झोलुङ्गे पुल बगाएको छ ।
बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा बगाएको छ । उता रसुवागढी भन्सार पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ । केही कर्मचारी अझै पनि सम्पर्कविहीन छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ अनुसार बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुर प्रभावित भएका छन् ।
बाढीले रसुवागढी भन्सार क्षेत्र (टिमुरे) मा अहिलेसम्मकै ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
नजिकिँदै गरेका ठूला चाडपर्व तिज, दसैं, तिहार र छठ लक्षित गरी चीनबाट आयात गरिएका अर्बौं मूल्य बराबरका मालसामान, सयौँ मालवाहक कन्टेनर र त्यहाँ कार्यरत व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुर बाढीको चपेटामा परेका छन् ।
भन्सार यार्डमा रहेका रेडिमेड सामानसँगै ठूलो संख्यामा आयात गरिएका महँगा विद्युतीय सवारीसाधन (ईभी) समेत बाढीले बगाएको छ । व्यवसायीका अनुसार ५–७ सय संख्यामा सवारी बाढीले बगाएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघ अध्यक्ष रामहरि कार्कीका अनुसार रसुवागढी नाकामा सामान ढुवानीका लागि पुगेका २ सयभन्दा धेरै ट्रक बाढीले बगाएको अनुमान छ ।
प्रसारण लाइन अवरुद्ध
रसुवा भीषण बाढीबाट ६ वटा प्रसारण लाइन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशूलीको २२० केभी सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने अन्य प्रसारण लाइनमा क्षति हुँदा विद्युत् प्रवाह अवरुद्ध बनेको हो । त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति पुगेको छ ।
चिलिमे २२) केभी हब टावर अवरुद्ध भएका कारण बन्द भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइन अवरुद्ध भएको छ । चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध छ ।
चिलिमे हब–त्रिशूली ३ बी हब–मातातिर्थ २२० केभी प्रसारण लाइन अवरुद्ध छ । त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध छ । अन्य केही प्रसारण लाइनको टावरमा समस्या रहेको प्राधिकरणले जनाएको छ ।
३ जिल्ला संकटग्रस्त
सरकारले बाढीप्रभावित तीन जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ । ती जिल्लामा मानवीय र भौतिक लगायतका सहयोग गर्नका लागि सरकारले अपिल पनि गरेको छ ।
कतिपय दातृ निकायले नेपाललाई बाढीमा सहयोग गर्ने घोषणा गरेका छन् । भारतले १० टन मानवीय सहायता सामग्री सहयोगस्वरुप नेपाल पठाएको छ ।
बाढीका कारण ठूलो संकट आएपछि सबै राजनीतिक दलहरूले सरकारको कामलाई सहयोग गरी अघि बढ्न सबैलाई अपिल पनि गरेका छन् । संसद् सबै दलका प्रतिनिधिहरूले एकस्वरमा सरकारलाई सघाउने प्रतिबद्धता गरेका थिए । आज बिहीबार विपतकै विषयमा छलफल गर्न सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।