कर्मचारी कुटपिटको विरोधमा उत्रिए विद्युत कर्मचारी
बिर्तामोड । विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीहरू आन्दोलित बनेका छन् । कार्यालयका कर्मचारी सोमराज उप्रेती लगायत माथि भएको आक्रमणको विरोधमा कर्मचारीहरु आन्दोलित बनेका हुन् ।
आज बिहान ११ बजे कार्यालयमा शेखर ओली नाम गरेका व्यक्तिले कृष्ण मगरको विद्युत चुहावट सम्बन्धी फाइल लिएर आएको र कर्मचारीलाई आक्रमण गरेको र सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय धुलाबारी जाने क्रममा प्रहरी कार्यालयको गेटमै मेचीनगर ११ वस्ने शम्भू राजवंशी लगायत अन्य १४/१५ जनाको समुहले पिडित तथा कार्यालयका अन्य कर्मचारीलाई समेत साङ्घातिक हमला गरि टाउको, आँखा, छाती तथा गर्दनमा समेत गहिरो चोट पर्ने गरि कुटपिट गरि शारिरिक तथा मानसिक रुपमा क्षति पुर्याएकाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन् । घाइतेको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मेचीनगर नगरपालिकाको कार्यालय, वितरण तथा ग्राहक सेवा निर्देशनालय र कोशी प्रादेशिका कार्यालय, विराटनगरलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषीलाई कारबाही नभए चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।
कर्मचारीहरूले घोषणा गरेको आन्दोलनका कार्यक्रम
१. मिति २०८३०४।२९ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापामा ज्ञापन पत्र बुझाउने
२. माग सम्बोधन नभएमा मिति २०८३।०४।३० र ३१ गते कालो पट्टि बाधेर कार्यालयको कार्य गर्ने
३. पुनः माग सम्बोधन नभएमा मिति २०८३।०५।०१ गते बिहान ९ बजेबाट १२ बजे सम्म कालो पट्टि बाँधि जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने
४. पुनः माग सम्बोधन नभएमा मिति २०८३।०५।०२ गते विहान ९ बजेबाट ५ बजे सम्म कालो पट्टि बाधि जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिने
५. पुनः माग सम्बोधन नभएमा दैनिक अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरु समेत कार्य गर्न असमर्थ हुनेछौ र ब्याक आउट समेत हुन सक्ने छ । यसवाट सम्पूर्ण ग्राहकहरुमा पर्न जाने असुविधाप्रति यस वितरण केन्द्रका कार्यालय प्रमुख तथा माथि उल्लेखित सम्बन्धित निकायहरु नै जिम्मेवार नहुने व्यहोरा अवगत गराउदछौं ।