२०८३ श्रावण २३ गते , शनिबार

ज्ञानेन्द्र शाहले दमकलाई तिरेनन् १० करोड बढी कर

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २२ गते , शुक्रबार
ज्ञानेन्द्र शाहले दमकलाई तिरेनन् १० करोड बढी कर

दमक । दमक नगरपालिकामा रहेको ‘हिमालय महालक्ष्मी चिया बगान’ले लामो समयदेखि स्थानीय सरकारलाई कर तिर्न अटेर गरिरहेको पाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको कम्पनीले दमक नगरपालिकालाई तिर्नुपर्ने बक्यौता कर १० करोडबढी पुगेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाका अनुसार सम्पत्ति कर लागू भएदेखि नै बगानले कर बुझाएको छैन । नगरपालिकालाई बगानले तिर्नुपर्ने करको बक्यौता १० करोडबढी रूपैयाँ पुगिसकेको छ ।
बगान प्रशासनले आफ्नो सम्पत्तिको विवरण नगरपालिकालाई उपलब्ध नगराउँदा ठ्याक्कै कति कर उठाउनुपर्ने हो भन्ने यकिन गर्न समस्या भएको निरौलाले बताए ।
दमक नगरपालिकाको वडा नम्बर ९ र ४ मा फैलिएको यो चिया बगान ५७५ बिघा १७ कट्ठा १४ धुर क्षेत्रफलमा रहेको छ । रोचक कुरा त के छ भने, नम्बरी जग्गा बाहेक बगानले करिब २ सय बिघा ऐलानी जग्गासमेत ओगटेको छ ।
बगानभित्र पूर्व राजपरिवार भ्रमणमा आउँदा बसोबास गर्ने भव्य भवन छ, जसलाई स्थानीयहरू मिनी दरबार भन्ने गर्छन् । यसका अतिरिक्त त्यहाँ अन्य अतिथि गृह र भौतिक संरचना पनि रहेका छन् ।
बगान प्रशासनले यी संरचनाको लगत नगरपालिकालाई दिन मानेको छैन, जसले गर्दा भौतिक संरचनाको कर निर्धारण गर्न नगरपालिकालाई कठिन भएको छ ।
यद्यपि, नगरपालिकाले २०६५ सालमै मालपोत कार्यालयको ढड्डाबाट जग्गाको विवरण भने प्रमाणित गरी दर्ता गरिसकेको छ । पहिला भएको सबै तथ्यांक जेनजी आन्दोलनका क्रममा लगाइएको आगोका कारण जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार बगान प्रशासन र नगरपालिकाबीच वर्गीकरणमा मुख्य विवाद देखिएको छ । नगरपालिकाले यसलाई व्यवसायिक क्षेत्र मानेर कर निर्धारण गर्न खोजेको छ भने बगान प्रशासनले यसलाई कृषि अन्तर्गत राख्नुपर्ने अडान लिएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो बहुमूल्य जग्गाको दर व्यवसायिक हुँदा निकै बढी हुने भएपछि बगानले कर तिर्न आलटाल गरेको देखिन्छ । पहिले सामान्य दर हुँदा कर तिरिरहेको बगानले सम्पत्ति कर लागू भएर दर बढेपछि तिर्न छाडेको हो ।
यसअघिका कतिपय निर्णय र कागजात जेनजी जनआन्दोलनका क्रममा आगलागी  हुँदा नगरपालिकामा नष्ट भएकाले पनि कानुनी प्रक्रिया र अघिल्ला अभिलेख खोज्न जटिलता थपिएको दमक नगरपालिकाले जनाएको छ ।
तीन–तीन महिनामा बगानसँग छलफल गर्ने गरेको दमक–९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईले भने । ‘छलफलका लागि प्रतिनिधि आउनुहुन्छ’, उनले भने ‘हामी माथि खबर गर्छौँ भन्नु हुन्छ । माथिको को भन्ने पनि हामीलाई भन्नु हुँदैन ।’

सम्बन्धित समाचार