इलाममा खोल्साले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या
झापा । इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई बाढीले बगाउँदा मृत्यु भएको छ । खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहान खत्रीको मृत्यु भएको हो । दाङ घर भएक उनी आफ्नी आमासँग मावलीघरमा बस्दै आएका थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत उनी स्कुल छुट्टी भएपछि मामाघर फर्कदै गर्दा स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएको थियो । बालकलाई खोल्साले बगाएर करिब एक किलोमिटर टाढा जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले जानकारी दिए ।
छोरालाई खोल्साले बगाएको थाहा पाउने बित्तिकै बेपत्ता भएकी आमा ३८ वर्षीया अमृता लेप्चा खत्री घर नजिकैको नेवाराको रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
अमृताको आमा पहिले नै नालीमा डुबेर मृत्यु भएको र माइती घरमा वृद्ध बुवाको रेखदेख गर्दै छोरा पढाएर बस्दै आएकी थिइन् । जाहेरीका लागि गुल्मीबाट अमृताको परिवार इलामतर्फ आउँदै गरेको बुझिएको छ ।