कोशीको मुख्यमन्त्रीमा नेकपाको दाबी रहन्छ : राई
बिर्तामोड । कोशीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टीको दाबी रहने बताइएको छ । आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले त्यस्तो बताएका हुन् ।
झापामा आयोजित एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज राईले सत्ता गठबन्धन गर्नुपरे आफ्नो दलले मुख्यमन्त्रीमा दाबी गर्ने बताए । 'प्रदेशमा अब नेपाली कम्युनिष्ट पार्टीको मुख्यमन्त्रीमा हक लाग्छ, हक खाेज्छ,' उनले भने, 'हिजोका समयमा अरू दललाई मुख्यमन्त्रीमा समर्थन गर्याै, अब पालाे हाम्राे हाे, मुख्यमन्त्री हाम्राे पार्टीले पाउनुपर्छ ।' कोशीमा नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सत्ता गठबन्धनमा नेपाली कांग्रेसले गठबन्धन सरकारबाट बाहिरिने निर्णय गरेसँगै नेकपा निर्णायक शक्तिको रुपमा रहेको छ ।
सरकारले सुकुम्बासी माथि गरेको दमन, सीमा सम्बन्धी प्रधानमन्त्रीले दिएको निर्लज्ज अभिव्यक्ति लगायतका कारणले सरकारप्रति जनताको अविश्वास बढ्दै गएको र लोकतान्त्रिक शक्तिहरु बिचमा सहकार्य र बाम शक्तिहरूको एकता आवश्यक रहेकोमा राईले जोड दिए ।