२०८३ असार १२ गते , शुक्रबार

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८३ असार ११ गते , विहीबार
जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिर्तामोड । जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा उल्लेख्य परिवर्तन देखिन थालेको भन्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित “जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम” मा  मनसुन तथा वर्षा चक्रमा आएको परिवर्तनले विपद्को जोखिम बढाएको बताएका हुन्। बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रमको उद्घाटन गर्दै विपद् सामनामा सबैको हातेमालो हुनुपर्नेमा जोड दिइन् । उनले बिर्तामोडमा बाढी डुवानको ठूलो जोखिम नदेखिएपनि जंगली हात्तीको आक्रमण, आगलागी, चट्याङ जस्ता विपद्को जोखिम रहेको स्पष्ट पारिन् ।
त्यसैगरी उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले विपद् जोखिमको सामनाका लागि स्थानीय सरकारले सकेसम्म काम गरिरहेको बताए । उनले ठूलो विपद् आइपरे एकैपटक व्यवस्थापन चुनौतिका अप्ठ्याराहरुबारे स्पष्ट पार्दै नागरिकका लागि सबैभन्दा नजिक रहेको स्थानीय तह नै उभिदै आएको उल्लेख गरे । 
यद्यपी जोखिम सामनाका लागि विपद् व्यवस्थापनका लागि औल्याइएको नौ वटा क्लष्टरहरुलाई प्रभावकारी रुपमा सक्रिय रहे विपद्लाई पनि सामना गर्न सहज हुने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताएका ।
कार्यक्रमको सहजीकरणका क्रममा सभापति ढकालले विगतका विपद, विपद् सामानाका लागि गरिएका अभ्यास, विपद्को पूर्वतयारी स्वरुप गाउँ गाउँमा तयार गरिएको राहत कोष, उद्दार प्रक्रिया, जलाधार क्षेत्रका जोखिम, सरोकारवाला निकायबीच विपद् सामनाको संयन्त्र र सहकार्य लगायतका विपद् व्यवस्थापनका लागि सरकारको दायित्व, बजेटको व्यवस्थापन र परिचालन लगायतका विषयमा स्पष्ट पारेका थिए । 
कार्यक्रममा विपद् व्यवस्थापनका लागि स्थापित नौवटा क्लष्टरमध्ये पाँचवटा पालिका तह र चारवटा जिल्ला तहमा सक्रिय रूपमा परिचालन गर्न सके जोखिम व्यवस्थापन प्रभावकारी हुने धारणा राखिएको थियो । पूर्वसूचना प्रणाली हाल पर्याप्त सशक्त रहेको उल्लेख गर्दै आधिकारिक पेजबाट आएको सूचनालाई विश्वास गर्न तथा त्यस्ता सूचनाहरु तोडमोड नगरी सार्वजनिक गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत जानकारी अनुसार मनसुन अवधिमा औसत १,३८२ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि पछिल्ला वर्षहरूमा कहिले अत्यधिक त कहिले न्यून वर्षा हुने प्रवृत्ति देखिएको छ। यस्तै प्रि–मनसुन अवधिमा हुने वर्षाको परिमाणमा समेत असामान्य उतारचढाव देखिन थालेको जनाइएको छ। सामान्यतः जेठ १५ देखि असोज १५ सम्म मनसुनको अवधि मानिए पनि जलवायु परिवर्तनका कारण फरक भइरहेको जानकारी दिईयो ।
अभिमुखीकरणमा पूर्वानुमान तथा पूर्वसूचना प्रणाली, जलाधार क्षेत्रको महत्व, वर्षा मापन गर्ने तरिका, नदीको जलप्रवाह र त्यसमा आउने परिवर्तनका चरणबारे जानकारी दिइएको थियो । 
वक्ताहरूले प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका जोखिमग्रस्त बस्ती तथा संरचनाको नक्साङ्कन र वर्गीकरण गरी पूर्वतयारीका योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाका सभापति मनोज अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शिला बरालले स्वागत गरेकी थिइन् । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी तथा  बिर्तामोड नगरपालिका वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले मन्तव्य राखेका थिए । 
अभिमुखीकरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधि, कर्मचारी, नगरप्रहरी, स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो।  साे अवसरमा रक्तदान कार्यक्रम समेत आयाेजना गरिएकाे थियाे ।

सम्बन्धित समाचार