सुधार गृह पठाउने तयारी गर्दागर्दै युवकद्वारा छुरा प्रहार
झापा । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकको हतियार प्रहारबाट एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार आज दिउँसो करिब साढे तीन बजे कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौं पठाउने तयारी भइरहेको थियो । सोही क्रममा उनले कोठा थुनेर आत्महत्याको प्रयास गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
सूचना प्राप्त हुनासाथ सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरिरहेका थिए । सोही क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाएर राखेको धारिलो हतियार अचानक निकालेर प्रहार गरेका थिए ।
आक्रमणबाट भोजराज रेग्मी, हिमाल घिमिरे र सन्तोष सापकोटा घाइते भएका छन् । उनीहरुको टाउकोमा सामान्य चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा आवश्यक समन्वय र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।