२०८३ असार ३ गते , बुधबार
रमा तिवारी हत्या प्रकरणमा खटिने प्रहरी टोली पुरस्कृत
बिर्तामोड । दमकमा भएको रमा तिवारी हत्या प्रकरणमा सफल अनुसन्धान गरेको भन्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँच जना प्रहरी पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरुमा डीएसपी बस्नेत, प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर छन् । उनीहरूलाई क्रमशः १५००, १४००, १०००, ९०० र ८०० रुपैया पुरस्कार प्रदान गरिएको छ । झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले डीएसपी बस्नेतसहितको प्रहरी टोलीलाई नगदसहित पुरस्कृत गरेकी हुन् ।
उक्त टोलीले दमक–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा ९ दिनसम्म गहन अनुसन्धान गरी अभियुक्त भारतीय नागरिक राकेशकुमार पण्डितलाई पक्राउ गर्न सफल भएको थियो ।