२०८३ जेष्ठ २५ गते , सोमबार

कमल गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २४ गते , आईतबार
कमल गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न

बिर्तामोड । झापा जिल्लाको कमल गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । न्याय प्रणाली प्रतिको समुदायको स्वामित्वभाव विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश उमेश प्रसाद लुईटेलले अदालतको कामकारवाही र कार्य प्रक्रिया बारे जनसाधारणलाई बुझाउन नसक्दा अदालतप्रति समुदायको जनआस्थामा कमी रहेको बताए । समुदायको अदालत प्रतिको बुझाइ र अपेक्षा के छ? भनी बुझ्न र भ्रम हटाई समुदाय र अदालतबिच सुमधुर सम्बन्ध कायम गर्न र न्याय प्रणाली प्रतिको समुदायको स्वामित्वभाव विकास गराउने उद्देश्यले न्यायपालिकाको रणनीतिक योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको प्रमुख न्यायाधीश लुईटेलले बताए ।
अदालतले आफ्नो कार्य सरल, सहज निष्पक्ष र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग बढाएको, मुद्दा लाई सरल, सामान्य र विशेष मार्ग समूहमा वर्गीकरण गरेको, अनलाइन बहस र तारेख, एसएमएस सेवा, स्वाचालित पेशी लागू र इजलास छनोटमा गोला प्रथा जस्ता नविन अवधारणा अबलम्बन गरेको जानकारी दिइयो । साथै कानुन व्यवसायी राख्न नसक्ने असहाय, असक्त, नाबालक, बिपन्न र थुनामा रहेका ब्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउन बैतनिक कानुन व्यवसायी तथा स्वेच्छिक कानुनी सेवा (प्रो बोनो सेवा) उपलब्ध रहेको प्रमुख न्यायाधीश लुइटेलले बताए ।
कमल गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमिला न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा जिल्ला अदालतका स्रेस्तेदार डिल्लीराम प्रसाई, न्यायिक समितिका द्वय सदस्य रविन राई र बाल कुमारी प्रसाई एवं गाउँपालिका कार्यसमिति सदस्य मनमाया सिटौलालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए । 

सम्बन्धित समाचार