भारी बर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
झापा । शुक्रबार साँझको भारी वर्षापछि आएको भीषण बाढीले मध्यपहाडी लोकमार्गको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोला क्षेत्रको करिब २५–३० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीका कारण भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका बस, सुमो तथा मोटरसाइकल यात्रु अलपत्र परेका छन् ।
सडक खुलाउन नगरपालिकाले डोजर, स्काभेटर र कामदार परिचालन गरेको छ भने प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको छ । केही समय लाग्ने भएकाले यात्रुलाई धैर्य गर्न आग्रह गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।
यसैबीच, गएराति आएको बाढीले यही जेठ १७ गते श्रम संस्कृति पार्टीका श्रमदाताले तीन दिन लगाएर निर्माण गरेको काठे पुल पनि बगाएको छ । पक्की पुल अलपत्र रहेको अवस्थामा बिरामी र विद्यार्थीको सहज आवागमनका लागि बनाइएको उक्त काठे पुल बाढीले बगाएपछि पैदल यात्रुसमेत समस्यामा परेका छन् । पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायको ध्यानआकार्षण गराएका छन् ।
पङ्खुखोलामा वि.सं. २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण थालिएको थियो, तर ठेकेदारको लापरबाहीका कारण पुल अझै अलपत्र छ । यसका साथै गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ र साकेला गाउँपालिका–१ को सीमानामा रहेको निर्माण व्यवसायीको ब्रेकर बगाएको छ ।
भीषण वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रा।लि।का महासचिव रामकुमार हिङमाङले जानकारी दिए । जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले हरेक वर्ष जेठदेखि कात्तिक अन्तसम्म करिब छ महिना अवरुद्ध हुने गरेको छ, जसले यात्रुलाई पैदल हिँड्न बाध्य पार्दै आएको छ ।