२०८३ जेष्ठ २३ गते , शनिबार

यौन र पैसाले लियो रमाको ज्यान (घटनाको यस्तो छ नालीबेली)

sajilo news
पुष्प खड्का
२०८३ जेष्ठ २२ गते , शुक्रबार
यौन र पैसाले लियो रमाको ज्यान (घटनाको यस्तो छ नालीबेली)

बिर्तामोड । झापाको दमकमा जेठ १६ गते हत्या गरेर बोरामा पोको पारी फ्याँकिएको अवस्थामा फेला परेकी रोमा भनिने रमा तिवारीको हत्या यौन र पैसासँग जोडिएको पाइएको छ ।
दमक ८ वसन्त टोल निवासी २१ वर्षीया रमाको हत्यामा संलग्न भारत बिहार जिल्ला अररिया ग्राम पञ्चायत सिरसियाकला थाना भरगामा बस्ने ३४ वर्षीय राकेश कुमार पण्डितले गरेको पुष्टि भएको छ । अभियुक्त पण्डितलाई दमक ५ स्थित डेराबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको छ । 
प्रहरीका अनुसार यस्तो घटनाको नालीबेली
रमा जेठ १३ गते राति अन्दाजी ९:३० बजे घरबाट निस्कन्छिन् र बाटोमा भौतारिंदै हिँड्छिन् ।
यत्तिकैमा रमाको भेट टाइल्स मिस्त्रीको काम गर्ने अपरिचित राकेश कुमार पण्डितसँग दमक ५ स्थित पुलमुनि हुन्छ । पण्डितले मादक पदार्थ सेवन गरेका हुन्छन् ।  उनीहरूबीच यौन प्रस्ताव र पैसाको कुरा हुन्छ । पैसाको डिल भएपछि पण्डित पैसा निकाल्न नजिकैको एटीएम जान्छन् ।
त्यसपछि उनीहरू नेपाली काँग्रेस पार्टी कार्यालय नजिकैको बाँसघारीमा जान्छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार रमाले पैसा लिन्छिन् तर शारीरिक सम्पर्क गर्न दिन्नन् र उल्टै पण्डितलाई फसाइदिने धम्की दिन्छिन् । त्यहा २०-२५ मिनेट उनीहरू बीच विवाद हुन्छ। 
रमाको धम्कीबाट डराएका पण्डित भाग्न खोज्दा लड्छन् र रमाले मुक्का हान्छिन् । मादक पदार्थ सेवन गरेका पण्डित आवेगमा आउँछन् र रमालाई लडाएर छातीमा बसेर दुवै हातको औलाले घाँटी थिचेर हत्या गर्छन् । त्यसपछि नजिकैको आफ्नो कोठामा गएर शव व्यवस्थापन गर्न बोरा लिएर आउँछन् । रमाको मृत्यु कन्फर्म गर्न बोरामा भएको लेबल पाइपले पुनः घाँटीमा कस्छन् र बोरामा रमाको शव हालेर खोलामा लगेर फ्याँक्छन् ।
त्यसपछि कोठा फर्किएका पण्डित १४ गते बिहान दमकको पशुपति मन्दिर जान्छन् र भगवानसंग माफी माग्छन् ।
१६ गते रमाको शव फेला परेपछि फसिने डरले उनी भारत जान्छन्, उतैबाट यताको समाचार हेर्छन् र १९ गते अन्य कामदारसमेत लिएर नेपाल फर्कन्छन् ।
घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले घटनामा पण्डितको संलग्नता रहेको प्रमाण फेला परेपछि इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरिबहादुर बस्नेतको टोलीले २१ गते राति ११ बजे कोठाबाटै पण्डितलाई पक्राउ गर्छ ।

पक्राउ परेका पण्डितले प्रहरीसामु घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी वसुन्धरा खड्काले जानकारी दिइन् ।
पण्डित विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धि कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग गरिएको मे २ प ८२३ को निलो रङको होन्डा साइन र बीआर३८एएम३७७८ नम्बरको रातो कालो रङको अपाची मोटरसाइकलसमेत बरामद गरेको छ ।

सम्बन्धित समाचार 

दमकमा बोराभित्र फ्याँकिएको शवको पहिचान खुल्यो। 

सम्बन्धित समाचार