अमेरिका र चीनबिच बहुप्रतिक्षित वार्ता सुरु
झापा । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ । वार्ताको प्रारम्भिक मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुई देश प्रतिद्वन्द्वी नभएर साझेदार हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति सीले वर्तमान समयमा विश्वले एक शताब्दीमा नदेखिएको ठुलो परिवर्तन बेहोरिरहेको र अन्तर्राष्ट्रिय परिस्थिति निकै अस्थिर र उतारचढावपूर्ण रहेको उल्लेख गरे । उनले अहिलेको विश्व नयाँ दोसाँधमा उभिएको बताउँदै ‘के चीन र अमेरिकाले ‘थुसिडाइड्स ट्रयाप’ लाई पन्छाएर सम्बन्धको नयाँ नमुना स्थापित गर्न सक्लान् ?’ भन्ने प्रश्न गरे ।
सीले विश्वका प्रमुख दुई शक्ति राष्ट्रका रूपमा इतिहास र मानवताको भविष्यका लागि यी प्रश्नहरूको जवाफ दिनु आफूहरूको जिम्मेवारी भएको बताए । सोही अवसरमा उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा ट्रम्प र संयुक्त राज्य अमेरिकालाई बधाई समेत दिए ।
दुई देशबिच मतभेदभन्दा साझा हितका विषय धेरै रहेको उल्लेख गर्दै सीले एकको सफलता अर्कोका लागि अवसर भएको र स्थिर द्विपक्षीय सम्बन्धले विश्वकै भलो हुने विश्वास व्यक्त गरे । उनले सन् २०२६ लाई इतिहासकै एउटा कोसेढुङ्गा वर्ष बनाएर दुई देशको सम्बन्धमा नयाँ अध्याय थप्न ट्रम्पसँग मिलेर काम गर्न आफू उत्सुक रहेको धारणा राखे ।
जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीसँगको भेटलाई आफ्नो लागि ‘सम्मानको विषय’ भनेका छन् । उनले विगतमा कठिनाइहरू आएका बेला पनि आफूहरूले फोन संवादमार्फत समस्याको छिटो समाधान निकालेको स्मरण गरे ।
ट्रम्पले सीलाई एक ‘महान् नेता’ को संज्ञा दिँदै आफूले यस पटक विश्वकै उत्कृष्ट व्यापारिक नेतृत्वलाई साथमा लिएर आएको बताए। उनले यो भेटलाई केही मानिसहरूले अहिलेसम्मकै ठुलो शिखर सम्मेलनको संज्ञा दिएको चर्चा गर्दै राष्ट्रपति सीसँगको मित्रता र आगामी छलफलप्रति निकै उत्साहित रहेको बताए। ट्रम्पले अमेरिका र चीनको सम्बन्ध अब पहिलेभन्दा अझ सुदृढ हुने दाबी समेत गरे ।
चिनियाँ सञ्चारमाध्यम सिसिटिभीका अनुसार यस वार्तामा ट्रम्पका साथ विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर र अर्थमन्त्री स्कट बेसेन्ट सहभागी छन् ।
स्टिम्सन सेन्टरकी विशेषज्ञ केली ग्रिकोका अनुसार ट्रम्पले सीलाई दिएको सम्मानजनक अभिव्यक्तिले वार्तामा चीनलाई अमेरिका समानको हैसियतमा उभ्याएको छ । ट्रम्पले चीनसँग अमेरिकी कृषि उपज, विमान र अन्य सामान खरिद गर्ने सम्झौता गरेर आफूले राम्रो डिल ल्याएको प्रमाणित गर्न चाहेका छन् ।
यद्यपि, गत वर्षका शुल्कहरू प्रभावकारी नहुनु र चीनले सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण मानिने दुर्लभ धातुहरूमा आफ्नो पकड देखाउनुले अमेरिकाको बार्गेनिङ शक्ति केही कमजोर भएको विश्लेषण गरिएको छ ।
ट्रम्पले इरानमाथिको दबाब बढाउन चीनको सहयोग खोज्ने अपेक्षा गरिए पनि त्यसको बदलामा चीनले पनि आफ्नो स्वार्थ अनुसार केही माग राख्न सक्ने अनुमान गरिएको छ ।