सुकुम्बासी वस्ती खाली गर्ने सरकारको शैलीप्रति सांसद मनिष खनाल असन्तुष्ट
बिर्तामोड । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले बस्ती व्यवस्थापन गर्ने क्रममा बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावले आफू स्तब्ध भएको बताएका छन् । उनले यस्तो विषयमा सरकार अझ बढी संवेदनशील बन्नु पर्ने बताए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’
उनले भनेका छन्, ‘राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुःखद घटनाले मलाई स्तब्ध बनाएको छ ।’
सांसद खनालले विस्थापन नभइ सुरक्षित व्यवस्थापनको मान्यतालाई प्राथमिकता दिँदै आएको पार्टीले बस्ती व्यवस्थापन क्रममा बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावमा संवेदनशीलता अपनाउनु पर्ने महसुस गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामी आज जुन जिम्मेवारीमा छौँ, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’
उनले सरकारको प्रयासले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा सचेत रहेको बताएका छन् । ‘सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ,’ उनले भनेका छन्, ‘सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास छ ।’
