आजदेखि कक्षा १२ को परीक्षा शुरू
बिर्तामोड । आजदेखि कक्षा १२ को परीक्षा शुरू भएको छ । ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जनाए ।
यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नतिजामा ९ प्रतिशतले सुधार देखिएको थियो । नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष समग्र विद्यार्थी संख्या घटेको देखिएको हो । वैशाख २७ गते परीक्षा सकिने तालिका रहेको छ ।