चिल्ड्रेन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने
बिर्तामोड । झापाको बिर्तामोडस्थित चिल्ड्रेन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन आयोजना गरेर अस्पतालले दुई हप्ते शिविर आयोजना गर्न लागेको जनाएको हो ।
अस्पतालले नयाँ वर्षको अवसरमा वैशाख ७ देखि २१ गतेसम्म अस्पतालमा शिविर आयोजना गर्न लागेको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजाता मैनाली आचार्यले जानकारी दिइन् ।
शिविर अवधिभर ओपीडी निःशुल्क रहने अस्पतालका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले जानकारी दिए। सो अवधिमा ल्याब परीक्षण, इसिजी, इको लगायतमा २० प्रतिशत र औषधिमा समेत छुटको व्यवस्था गरिएको उनले बताए ।
शिविरमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्यसहितको चिकित्सकको टोलीले सेवा दिने अस्पताल प्रशासनले जनाएको छ । शिविरमा बाल रोग परीक्षण तथा पोषण सम्बन्धी समस्याको जाँच र उपचार गरिने छ ।
बालबालिकाहरूमा हुने स्वास्थ्य सम्बन्धी जटिलताहरू चाँडै पहिचान गरी उचित उपचार गराउन यो शिविर आयोजना गरिएको अस्पतालकी अध्यक्ष लीला मैनालीले बताइन् । यो शिविरले आर्थिक अभावका कारण उपचार नपाउने बालबालिकालाई ठूलो राहत मिल्ने विश्वास अस्पतालले लिएको छ ।
चौबीसै घण्टा विशेषज्ञको सेवासहित सञ्चालित अस्पतालले स्थानीय तहबाट सिफारिस लिएर आउने विपन्न वर्गका बिरामीहरुलाई छुट दिइँदै आएको अस्पतालका प्रबन्ध निर्देशक डा. आचार्यले जानकारी दिए ।
अस्पतालले अन्य संघ-संस्था तथा स्थानीय तहसंगको समन्वयमा त्यस क्षेत्रमा नै गएर शिविर सञ्चालन गर्ने योजना बनाइरहेको उनले बताए ।
गोमा सिटौलाले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका सल्लाहकार मदन गोपाल सुब्बालगायतले मन्तव्य राखेका थिए ।