ओली र लेखकले गल्ती स्वीकार गर्नुपर्ने महाविर पुनको भनाई
काठमाण्डौ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किचाउन नहुने बताए ।
मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उनको तर्क थियो ।
‘आज उनीहरूले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरू थिए नि त । अनि थाहा पाईएन भनेर सुख पाइन्छ ? आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती गर्यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु पर्यो नि त । ल म क्षमा माग्छु पनि भन्नुपर्यो,’ पुनले भने, ‘क्षमा मागेर को मान्छे घट्छ ? घट्दैन नि । विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने ? त्यो मेरो आफ्नो मनको कुरा हो ।’