२०८३ बैशाख ३ गते , विहीबार

स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भए पछि श्रम मन्त्री साहकी श्रीमतीको चर्चा

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २४ गते , मंगलबार
स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भए पछि श्रम मन्त्री साहकी श्रीमतीको चर्चा

झापा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भएपछि एकाएक उनको आलोचना सुरु भएको छ । यसअघि बोर्डको सदस्य नियुक्त श्रेष्ठ ११ पटक सम्म अनुपस्थित रहेर  सोमबारको बैठकमा उपस्थित भएसँगै उनको आलोचना सुरु भएको हो ।
के हो घटना ?
विक्रम सम्वत २०८० सालमा तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले हुनुलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेका थिए । तर जुन लगातार ११ पटक बोर्ड बैठकमा अनुपस्थित भएपछि उनको पद रिक्त भएको थियो ।
स्वास्थ्य बीमा ऐन २०७४ को दफा २५ को उपदफा १ ले निरन्तर तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन हुने व्यवस्था गरेको छ ।
ऐनमा भनिएको छ, ‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ ।’
४ वैशाख २०८१ मा बीमा बोर्डले स्वास्थ्य मन्त्रालयलाई नै  आवश्यक कार्यान्वयनका लागि पत्र काटेको थियो ।
जानकारी नदिई तीन पटक बोर्ड बैठकमा अनुपस्थित भएमा उक्त पद रिक्त हुने व्यवस्था रहेको भन्दै नियम बमोजिम आवश्यक कार्यान्वयनलाई तत्कालीन बोर्डका निर्देशक डा. रघुराज काफ्ले स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका थिए ।
उक्त पत्रमा भनिएको छ, ‘२०८१ पुस १ गतेदेखि चालू आव २०८१ र ०८२ को चौथो बोर्ड बैठकदेखि हालसम्म एघारौँ बोर्ड बैठक बसिसक्दा लगातार अनुपस्थित रहेको देखिन्छ । बोर्डको सदस्यको अनुपस्थितिले यस बोर्डको बैठक र निर्णय प्रक्रिया प्रभावित हुँदै आएको छ ।’
भौतिक रूपमा उपस्थिति नभएपछि जुनुलाई हटाएर बोर्ड सदस्यबाट रिक्त बनाइएको थियो । उनी हटाइएपछि अहिले एक सदस्य पद रिक्त राखिएको छ । उनको नाम बीमा बोर्डको वेबसाइटमा समेत छैन । तर उनले भने सोमबार एकाएक बोर्डमा बैठकमा उपस्थिति जनाइन् ।
‘जुनु हिजोको बैठकमा हुनुहुन्थ्यो । हाजिर पनि गर्नुभयो,’ बोर्डका एक सदस्यले भने ।
बोर्डका एक सदस्यका अनुसार श्रेष्ठ यसअघिका बैठकमा लगातार अनुपस्थित भएपछि उनको विषयमा बैठकमै छलफल उठाइएको थियो । ती सदस्यका अनुसार श्रेष्ठ तीन पटकसम्म बैठकमा उपस्थित नभएको भन्दै अध्यक्षले प्रश्न उठाएका थिए ।
त्यस बेला उनलाई औपचारिक रूपमा बर्खास्त गरिएको भने थिएन । जुनु अध्ययनका लागि बेलायत गएकी थिइन् । केही समय अगाडि फर्किएपछि उनले आफू उपस्थित हुन पाउनुपर्ने माग बोर्डका सदस्यसँग राखेकी थिइन् ।
यसैबीच, जुनुले स्वास्थ्य मन्त्री निशा मेहतासँग भेटेर आफ्नो विषयमा छलफल गरेकी थिइन् । ‘यसअघिका दुई वटा बैठकमा उनलाई बोलाइएको थिइएन । जुनुले मन्त्रीसँग छलफल भयो भन्नुभएको थियो,’ बोर्डका सदस्यले भने, ‘पछिल्लो बैठकमा भने उनलाई सहभागी गराइएको थियो ।’
सोमबारको बैठकमा कार्यकारी निर्देशकसहित सात जनाको उपस्थिति थियो ।
सञ्चार माध्यममा स्वास्थ्य मन्त्री निशा मेहताले श्रम मन्त्री दीपकुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेको समाचार प्रकाशन भयो ।  नियुक्त गरिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि जुनुले भने त्यसको खण्डन गरेकी छिन् ।

सम्बन्धित समाचार