नेकपा छाडेर प्रलोपा पुगेका सुदन माटोमा मिल्ने संकेत
झापा । पार्टी गठन गरेको चार महिनामै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले राजीनामा दिएका छन् । चुनावी परिणामलाई कारण देखाउँदै उनले राजीनामा दिएको प्रलोपा स्रोतको भनाइ छ ।
उनले चुनावको नतिजा आएलगत्तै राजीनामा दिए पनि हालसम्म पार्टीले स्वीकृत गरेको छैन । गत ८ मंसिरमा गठन भएको पार्टीमा किराँतीसहित दुर्गा सोब, ओजस्वी भट्टराई, सन्तोष परियार र अशोक जैसवाल अध्यक्ष परिषद्का सदस्य छन् । सोब र भट्टराईले पनि राजीनामा दिएको स्रोतको भनाइ छ ।
किराँतीको हकमा अध्यक्ष परिषद्का सदस्य परियारले भने राजीनामा आएको कुरा स्वीकारेका छैनन् । उनले पार्टी सञ्चालनको विषयमा केही असन्तुष्टि देखिएको जानकारी दिए । सोही असन्तुष्टिबारे बुधबार परिषद्को बैठक बसेको उनले बताए । तर, उक्त बैठकले कुनै ठोस निर्णय नगरेको र आगामी केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
बुधबारको अध्यक्ष परिषद्को बैठकमा किराँतीले ‘राजीनामा दिइसकेको हुँदा नैतिक रूपमा बैठकमा उपस्थित हुन असमर्थ रहेको’ भन्दै भर्चुअल माध्यमबाट सूचना पठाएका थिए । साथै, उक्त सूचनामार्फत उनले आफ्नो राजीनामा स्वीकृत गर्नसमेत आग्रह गरेका छन् । माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेसपा (नयाँ शक्ति) का संयोजक दुर्गा सोब मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको थियो ।
शर्मा, राम कार्की र बाबुराम भट्टराई निर्देशक समितिमा रहेर पार्टी सञ्चालन गर्दै आएका छन् । युवालाई नेतृत्व हस्तान्तरण गरिएको भनिए पनि हरेक निर्णयमा हस्तक्षेप भएको भन्दै किराँतीले असन्तुष्टि जनाउँदै आएका थिए । २१ फागुनको चुनावमा किराँतीले आफ्नो गृहजिल्ला भोजपुरमा र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग उम्मेदवार बनेको सुनसरी–१ (धरान) मा प्रलोपाले सहयोग गर्ने निर्णयप्रति भट्टराई, शर्मा र कार्की असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।
पार्टीले किराँतीलाई कारबाही गर्ने संकेत दिएपछि उनले राजीनामा दिएर हर्कराज राईसँग संवाद अघि बढाएको बुझिएको छ । भोजपुरमा धुर्व राई र धरानमा हर्कराज राईलगायतलाई जिताउन भूमिका खेलेका किराँती अहिले हर्कसँग सहकार्यतर्फ अग्रसर भएका हुन् ।
यता, श्रमसंस्कृति पार्टीका एक नेताका अनुसार किराँतीसहितको शक्तिलाई पार्टीमा भित्र्याउन सके थप बल पुग्ने विश्वासका साथ पहल भइरहेको छ । निर्णायक छलफलका लागि उनीहरूबीच वार्ता समिति गठन गर्ने तयारी भएको छ । ‘पार्टी एकता दुवै पक्षको हितमा हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’ स्रोतले भन्यो, ‘यो शक्तिलाई अझ बलियो बनाउँदै माटो सुहाउँदो राष्ट्रिय शक्ति निर्माण गर्ने’ हाम्रो प्रयास हो । छिट्टै यसबारे स्पष्ट जानकारी आउनेछ ।’