बिर्तामोडका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने
बिर्तामोड । बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा सामुदायिक ५६ वटा विद्यालयमा पुगेर कक्षा ६ मा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ ।
जनस्वास्थ्य निरीक्षक गणेश रिजालले गत वर्षको अभियानमा छुटेका लक्षित उमेर समूहका किशोरीलाई पनि यस वर्ष अनिवार्य रूपमा खोप लगाइने जानकारी दिए । उनका अनुसार प्रत्येक विद्यालयबाट छुटेका किशोरीहरूको नाम रोल नम्बर सहित संकलन गरिएको छ ।
यसैगरी, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत संजय ठकुरीले पहिलो चरणमा खोप कार्यक्रम सञ्चालन गरिने र दोस्रो चरणमा स्क्रिनिङको काम गरिने बताए । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रतिदिन औसतमा ४ महिलाको मृत्यु हुने गरेको उल्लेख गर्दै यस रोगको रोकथामका लागि एचपिभी खोप अत्यावश्यक रहेको बताए ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको प्रचार–प्रसार र समन्वयमा सबै जनप्रतिनिधिहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरिन् । स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले लक्षित वर्गलाई व्यवस्थित रूपमा अनिवार्य खोप लगाउन जोड दिइन् ।
बिर्तामोड नगरपालिकाले एचपिभी खोप सञ्चालनसम्बन्धी नगरस्तरीय अभिमुखीकरण गोष्ठी मंगलबार सम्पन्न गरेको छ । गोष्ठीमा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कक्षा ६ मा अध्ययनरत किशोरीका साथै विद्यालय जानबाट वञ्चित किशोरीलाई समेत खोप अनिवार्य रूपमा लगाइने नगरपालिकाले जनाएको छ । खोप कार्यक्रमका लागि नगरभर ६७ वटा खोप केन्द्र तोकिएको छ ।