झापामा डिजिटल सुरक्षा कार्यशाला सम्पन्न
बिर्तामोड । झापामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा कार्यशाला सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार सो कार्यशाला सम्पन्न गरिएको हो ।
इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै यसको माध्यमबाट हुने हिंसापनि बढेको कार्यशालामा जानकारी दिइयो । इन्टरनेटको प्रयोग गरी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सामाजिक, आर्थिक, लैङ्गिक र यौनजन्य हिंसाको घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनले जिल्लामा भएका हिंसाको घटना र तथ्याङ्क साथै यसको अनुसन्धान र कारबाहीबारे विशेष प्रस्तुती राखेका थिए ।
झापामा गत आर्थिक बर्षमा हिंसासम्बन्धि १७९ वटा उजुरी परेकोमा १७५ वटा छलफलबाट टुंगिएको र ४ वटा अदालतमा मुद्धा दर्ता भएको साथै चालु आवमा ५४ वटा उजुरी परेकोमा ४३ वटा छलफलबाट टुंगिएको सुचना अधिकारी खड्काले जानकारी दिए ।
सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, भाइबर आदिको प्रयोग गरी मानिसहरुले ठगी गर्ने घटना बढीरहेको भन्दै सावधानी अपनाउन उनले अग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सामाजिक सञ्जालका कारण कैयन मानिसले मानसिक दबाब झेल्नुपर्ने अवस्था सिर्जना भएको बताए । मानिसको गोपनीयताको हकको ख्याल नगरी जथाभावी सामाजिक सञ्जालमा पोष्ट गर्नाले मानिसको चरित्र हत्या हुने, विभिन्न दबाब झेल्नुपर्ने अवस्था आएको बताउँदै सामाजिक सञ्जालको सदुपयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा डीएसपी खड्का र अधिवक्ता कोपिला खड्का बस्नेतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले ४ बुँदे प्रतिबद्धतामा हस्ताक्षरसमेत गरेका छन् ।
राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेती, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, न्याय तथा विकासका लागि सामाजिक सञ्जालका अध्यक्ष सोमनाथ भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघ झापा महिला विभाग तथा नारी सञ्चार गृह झापाको आयोजना तथा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल र लुथरन विश्व फेडेरेशनको सहयोग रहेको थियो ।
पत्रकार महासंघ झापा उपाध्यक्ष तथा महिला विभाग संयोजक बिनिशा गौतम र नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव नारी सञ्चार गृह झापाकी दिपा पोखरेलले सञ्चालन गरेकी थिइन् ।