खजुरगाछीमा आगलागी, लाखौँको क्षति भएको अनुमान
बिर्तामोड । झापा गौरीगञ्जको खजुरगाछी बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट लाखौँ क्षति भएको अनुमान गरिएको छ ।
गएराति १० बजे गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछी बजार बस्ने चन्द्र नायकको होलसेल किराना पसलबाट विद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट नायकको पसलसंगै घर र नजिकै रहेको राजेन्द्र ढकालको इटाको गारो र टिनको छाना भएको ८ कोठाको २ तले घर पनि जलेर नष्ट भएको छ ।
आगलागीबाट नायकको टिनको छाना भएको, टिनले सेन्ट्रीबेरा गरेको एकतले ३ कोठे पसल र पसलभित्रका सम्पूर्ण सरसामान जल्दा ठूलो क्षति भएको छ ।आगलागीबाट त्रिभुवन आदर्श पुस्तकालयमा पनि क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा २५जनाको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म फत्तेपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठको कमाण्डमा १८जनाको टोली खटिएर उक्त आगो गौरादह, शिवसताक्षी र कमलको दमकल तथा स्थानीयबासीको सहयोगमा राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।