नेपालमा ‘मोन्था’को असर शुरु, सतर्क रहन आग्रह
झापा । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको असर नेपालमा पनि देखा परेको छ । मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानदेखि सुरु भएको चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहनेछ ।
वरिष्ठ मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको असर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ भने बाँकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । मोन्था चक्रवातका कारण कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेको उनको भनाइ छ । यस चक्रवातसँगै पश्चिमी वायु र अरब सागरको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि परेको महर्जनले बताइन् ।
बिहीबार बिहान सुरु भएको वर्षा शुक्रबार बिहानसम्म जारी रहने र शनिबारबाट मात्रै मौसम सफा हुने अर्का मौसमविद् उज्जवल उपाध्यायले बताए । बिहीबार बिहान काठमाडौं उपत्यका लगायतका स्थानमा भएको वर्षा पश्चिमी वायुको गतिविधिले गराएको र बिहीबार अपरान्हदेखि मोन्था आँधीको प्रभाव पूर्ण रूपमा सक्रिय हुने उनको भनाइ छ ।
मौसम विभागले चक्रवातको जोखिमलाई ध्यानमा राख्दै बिहीबारदेखि अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।