विपिन जोशीको शव राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

झापा । हमासको आक्रमणबाट इजरायलमा मारिएका विपिन जोशीको शव आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि जोशीको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ ।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्र् नगरपालिका–३ भाषीस्थित घर र्पुयाइएको थियो ।
राति अबेर घरमा शव ल्याइर्पुयाइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।
टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि
इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।
त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतले भनाइ छ ।
दुई वर्षअघिसुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टोबर ७ मा आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।
तर इजरायल र हमासबीच हालै युद्धबिराम भएपछि बन्धकहरुको रिहाइ गर्ने क्रममा विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।