मेची राजमार्गअन्तर्गत वैकल्पिक सडक खुल्यो
बिर्तामोड । असोज १८ गते राति आएको अबिरल बर्षाका कारण अवरुद्ध मेची राजमार्गको वैकल्पिक सडक आजदेखि सञ्चालनमा आएको छ । सिमलगोलाई–जोगमाई खोला–तिल्केनी सडक बुधबार साँझदेखि सञ्चालनमा आएको हो ।
माइखोला माथि इलामतर्फको सडक भासिए पछि वैकल्पिक मार्गको रुपमा सिमलगोलाई–तिल्केनी सडक सुचारु गरिएको हो । सो सडक खण्डमा हालिएको बेलीब्रिजपनि बाढीले बगाएपछि अवरुद्ध बनेको थियो । ह्युमपाइप राखेर डाइभर्सन बनाइएपछि आजदेखि उक्त सडक सञ्चालनमा आएको हो । लामो समय सडक अवरुद्ध हुँदा इलाममा यात्रु तथा सामान ढुवानीमा असहजता उत्पन्न भएको थियो ।
केहि दिन अघि भौतिक पूर्वाधार मन्त्री कुलमान तामाङले बाढी प्रभावित इलामको भ्रमण गरेका थिए । मन्त्रीको निर्देशन र सडक डिभिजन कार्यालय इलामको तदारुकताका कारण दिनरात काम गरेर उक्त सडक आज साँझदेखि सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।