फ्री तिब्बत अभियानमा जोडिएको आशंकामा सुदन गुरुङमाथि निगरानी
काठमाण्डौ । जेन जी अभियान्ता सुदन गुरुङमाथि सुरक्षा निकायले निगरानी बढाएका छन् । जेन जी आन्दोलनका क्रममा फ्री तिब्बत अभियानका सहभागीहरू देखिएपछि उनीहरूको निगरानी बढेको छ । आन्दोलनमा टिओबी अर्थात् तिब्बतियन मूलको रगत (तिब्बत ओरजिन ब्लड) का सदस्यहरू देखिएपछि सरकारले निगरानी बढाएको हो ।
त्यसमा जेनजी अभियन्ता सुदन गुरुङ पनि जोडिएको आशंकामा सुरक्षा निकायले उनीमाथि पनि निगरानी बढाएका छन् । गृह मन्त्रालयले यो विषय निकै गम्भीर भएकाले जोकोही भए पनि निगरानीमा रहने जनाएको छ । जेनजी अभियन्ता गुरुङमाथि पनि फ्री तिब्बत अभियन्ताको आरोप लगाएपछि उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै त्यसको खण्डन गरेका छन् । यद्यपि उनका विभिन्न गतिविधिलाई लिएर सुरक्षा अंगले निगरानी बढाएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिहरूले हुलदंगा गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो फुटेज आएपछि गृह मन्त्रालय र मातहतका सुरक्षा अंगहरू सशंकित भएका थिए । ‘जेनजी आन्दोलनमा स्वयंसेवकका रूपमा मात्र खटिएर हाल नेतृत्वकै दाबी गरिरहेका हामी नेपाल अभियानका अध्यक्ष गुरुङका गतिविधि शंकास्पद देखिएपछि निगरानी बढाइएको हो,’ स्रोतले भन्यो ।
उनको विषयमा विविध प्रश्न उठेको बेला गृह मन्त्रालय पुगेका गुरुङले आफू फ्री तिब्बतको अभियानमा नरहेको भन्दै गृहमन्त्रीलाई जानकारी गराएका थिए । त्यसलगत्तै आइतबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर टिबिओ समूहमा आफू नदेखिएको र उनीहरूसँग आफ्नो चिनजान पनि नभएको जनाएका थिए । फ्री तिब्बतको विषय उठेपछि नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत चासो दिएर उनीमाथि निगरानी गरिरहेको छ । ‘छिमेकी मुलुकको विषय हो । यसले पार्ने प्रभाव र असर ठुलो हुन्छ,’ एक सुरक्षा अधिकारीले भने ।
आन्दोलनमा ठुलो भूमिका नभए पनि पछिल्लो समय सरकार गठनमै गुरुङले हस्तक्षेप गर्ने प्रयास गरिरहेका छन् । गृह मन्त्रालयका सहप्रवक्ता रवीन्द्र आचार्यले शंकास्पद देखिएको जोकोहीमाथि निगरानी गर्न मातहत सुरक्षा अंगलाई निर्देशन गइसकेको बताए । ‘यो गम्भीर विषय हो, सुरक्षा अंगले आफ्नो काम गरिरहेको छ । निर्देशन गइसकेको छ,’ सूचना अधिकारीसमेत रहेका सहप्रवक्ता आचार्यले भने । गुरुङले सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्ति भएको केही दिनमा राजीनामा मागेको र गृहमन्त्री ओमप्रकाश अर्याल मन्त्री नभईकन मन्त्री हुन लागेको भन्दै धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । तर पछिल्लो समय सरकारी संयन्त्रमा गएर धम्क्याएको आरोप पनि उनीमाथि छ । आफू निकटस्थलाई मन्त्री बनाउनसमेत दबाब दिइरहेको स्रोतको दाबी छ ।
अहिले सादा पोसाकको प्रहरी टोलीले उनको निगरानी गरिरहेको छ । उनको समूहबाहेकका जेनजीहरूले गुरुङले आन्दोलनको अपनत्व लिन खोजेको भन्दै विरोध पनि गरिरहेका छन् । यद्यपि यो विषयलाई सरकारी संयन्त्रले त्यति वास्ता नगरेको भए पनि फ्री तिब्बतसँग जोडिएको विषयलाई भने गम्भीर रुपमा लिएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले फ्री तिब्बतको विषय गम्भीर भएकाले सुरक्षा निकाय निकै चनाखो भएर बसेको बताए ।
‘हामीले पनि त्यो विषय सामाजिक सञ्जालमा हेरेका छौ, कतिपय उजुरी पनि आएका छन्। यसमा नेपाल प्रहरीको ध्यान पर्याप्त मात्रमा गएको छ। त्यसकारण यो वा त्यो भन्ने हुँदैन । व्यक्ति जोसुकै होस्, अनुसन्धान हुन्छ,’ प्रवक्ता घिमिरेले भने। मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मध्यरातमा नाराबाजी गरेको थियो । भदौ ३० मा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासमेत लगाएका थिए। सो क्रममा जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका परिवारका सदस्यहरूसमेत सहभागी भएका थिए । त्यतिबेला बालुवाटारस्थित तीन नम्बर गेटअगाडि उभिएर सुदन गुरुङले भने, ‘सबैभन्दा ठुलो शक्ति नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छौ ।’
प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गर्न लागेको सार्वजनिक भएपछि उनले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीको खुट्टा ढोगेको तस्बिर पनि सार्वजनिक भएको थियो । उनका पछिल्ला गतिविधिले गर्दा राजनीतिक दलले समेत चुनाव हुने वातावरण नभएको बताउँदै आएका छन् । गुरुङले राजनीतिक दलका नेताहरूलाई चुनावमा उठ्नै नदिने बताउने गरेका छन् ।
टिओबी प्रकरणमा मुछिएका केहीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेनजी आन्दोलनमा हतियारसहित सहभागी भएको आरोप लागेका टीओबी समूहका तीन युवाहरूलाई ६ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिइसकेको छ । उनीहरूविरुद्ध अभद्र व्यवहारमा प्रशासनबाट अनुमति लिएर प्रहरी थप ६ दिन अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् । तत्काल कुनै त्यस्तो बलियो प्रमाण फेला नपरेपछि प्रहरीले अभद्र व्यवहारमा प्रशासनबाटै म्याद लिएको हो । जेनजी आन्दोलनका क्रममा उनीहरू हतियारसहित देखिएको भन्दै उनीहरूको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो । तेन्जेन दावासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।