झापाबाट इलामका लागि राहत सामाग्री पठाइयो

बिर्तामोड । असोज १८ गते आएको पहिरोका कारण प्रभावित इलामका परिवारका लागि राहत सामाग्री पठाइएको छ । इलाम–झापा मैत्री समाजको अगुवाईमा १७९ परिवारका लागि राहत सामाग्री पठाइएको हो ।
सन्दकपुरका ३० परिवार, माइजोगमाईको ३४ परिवार, देउमाईको ३५ परिवार, इलाम नगरपालिका ४ को १८ परिवार, ५ को ७ परिवार, ६ को १५ परिवार, १ को २५ परिवार र १२ को १५ परिवारका लागि राहत सामाग्री पठाइएको इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् ।
इलाम–झापा मैत्री समाजसँगको सहकार्यमा एकका लागि एक अभियानमार्फत १०४ परिवारका लागि प्रति परिवार २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, ५ केजी आलु, २ लिटर तेल, २ वटा म्याट्रेस र एउटा व्ल्याङ्केट पठाइएको अभियान्ता रोनक बंशलले जानकारी दिए ।
त्यस्तै इलाम–झापा मैत्री समाज र ट्रष्ट टीम नेपालको संयोजनमा ७५ परिवारका लागि प्रति परिवार एउटा व्ल्याङ्केट, खाना पकाउने डब्बी, कराई, डाडु, पुन्यु, पानी बोक्ने बाल्टी, बोल १/१ थान, थाल, बटुका र गिलास २/२ थान पठाइएको छ ।
ट्रष्ट टीम नेपालले राहतका लागि ४० हजार नगद सहयोग गरेको उपाध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् ।
इलामको सामाग्रीको ढुवानीका लागि युवा व्यवसायी तथा समाजसेवी पदम श्रेष्ठले सहयोग गरेको समाजका उपाध्यक्ष नरेश कर्माचार्यले बताए ।
एकका लागि एक अभियानले सुर्योदय नगरपालिकाको ४६ परिवारका लागि राहत पठाएको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
राहत हस्तान्तरणका लागि समाजका अध्यक्ष खत्री, उपाध्यक्ष कर्माचार्य, महासचिव दिनेश भट्टराई, संस्थापक अध्यक्ष श्याम खड्गीलगायत इलाम गएको बिर्तामोड नगर समिति अध्यक्ष अञ्जु लामिछानेले बताइन् ।