२०८३ बैशाख १८ गते , शुक्रबार

बाढी पहिरो पीडितलाई अस्थायी आवासका लागि ५० हजार दिइने

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २१ गते , मंगलबार
बाढी पहिरो पीडितलाई अस्थायी आवासका लागि ५० हजार दिइने

झापा । सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो ।
मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार अस्थायी आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले स्थायी आवास निर्माणका लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।
बैठकले सडक तथा अत्यावश्यक सेवा सुरु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरू संघीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले तत् निकायले आफ्नो सडक सेवा, खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार