देउवाको गर्दनमा १२ टाँका, डिस्चार्जको टुङ्गो छैन
झापा । भदौ २४ गते भएको जेन जी आन्दोलनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा १२ टाँका लगाइएको छ । उनको गर्दनमा लगाइएको टाँका चार दिनपछि काटिने भएपनि डिस्चार्ज कहिले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई बाहिर निकालेर कुटपिट गरेका थिए ।
कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका आजको चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘डाक्टरहरूले चोटमा लगाइएका टाँका ४ दिनपछि मात्रै काट्न मिल्छ भन्नुभएको छ,’ स्वकीय सचिव भानुले सोमबार भने, ‘त्यसपछि घाउ हेरेर बल्ल कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित हुन्छ ।’
आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा सँगै रहेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए । कुटपिट हुँदाको समयसम्म तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी डा. राणाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको पनि अनुहार र शरीरमा चोट लागेकाले डिस्चार्जको निर्क्यौल भइसकेको छैन ।
गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नेताहरूलाई देउवाको स्वास्थ्यावस्थाबारे ब्रिफिङ गर्दा गर्दनमा गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको र केही समय अझै अस्पतालमा राख्नुपर्ने भएको बताएका थिए ।