२०८३ बैशाख १८ गते , शुक्रबार

यो वर्षको दशैंमा पानी पर्ने सम्भावना बढी

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ५ गते , आईतबार
यो वर्षको दशैंमा पानी पर्ने सम्भावना बढी

बिर्तामोड । दशैं नजिकिएसँगै मौसम कस्तो रहला भन्ने चासो समेत बढेको छ । घमाइलो मौसम र खुला आकाशमा दशैँ मनाउन पाइन्छ भन्नेहरूका लागि भने चिन्ता थपिएको छ । यस वर्षको दशैँमा पानी पर्ने सम्भावना बढीरहेको मौसमविदहरुले बताएका छन् ।
मौसमविद डा. विनोद पोखरेल भन्छन्– ‘यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ ।’ उनका अनुसार भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ । ‘अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ । जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै रहेको छ,’ डा. पोखरेल भन्छन् ।
विपद व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म नेपालमा मनसुन कायमै रहने सम्भावना देखिएको बताउँछन् ।
उनका अनुसार सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म त्यसले आंशिक असर पार्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही हदसम्म रोक्ने हो कि भन्ने अनुमान गरिएको डा. उप्रेतीको भनाइ छ ।
मौसम पूर्वानुमान गर्न प्रायजसो आइकोन, जीएफएस, ईसीएम डब्ल्यूएफ (युरोपियन मोडेल) प्रयोग गरिन्छ । यी मोडेलहरुले देखाएका सम्भावना समान भने छैनन् ।
युरोपियन मोडेलले पूर्वी नेपालमा खासै पानी पर्ने सम्भावना देखाएको छैन । तर भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा ठूलो वर्षा हुने सम्भावना देखाएको छ । त्यसको असर नेपालको सुदूरपश्चिम प्रदेशसम्म पर्न सक्ने अनुमान छ ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक सम्भावना देखाएकाले आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाटै लिनुपर्ने डा. उप्रेतिको सुझाव छ । डा. उप्रेति भन्छन्, ‘कुनै मोडेलले अर्को आइतबारदेखि पानी पर्ने सम्भावना कोशी प्रदेशदेखि गण्डकीसम्म देखाएको छ । कुनै मोडेलले दशैंको दिन दिउँसो पनि पानी पर्ने सम्भावना देखाएका छन् । त्यसैले आधिकारिक जानकारी मौसम विज्ञान विभागबाटै लिँदा राम्रो हुन्छ ।’
मौसम विज्ञान विभागका मौसमविद् के भन्छन् ?
मौसम विज्ञान विभागले भने सामान्यतया तीन दिनभन्दा धेरै अवधिको मौसम पूर्वानुमानबारे औपचारिक जानकारी दिँदैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार दशैं विशेष बुलेटिन जारी गरेर मौसमबारे औपचारिक जानकारी दिइनेछ । तर त्यसका लागि केही दिन कुर्न र अन्यका सूचनामा विश्वास नगर्न उनले अनुरोध गरे ।
जल तथा मौसम विज्ञान विभागका अर्का एकजना मौसमविदले बंगालको खाडीमा विकसित हुने प्रणालीको सिधा असर नेपालमा पर्ने सम्भावना नरहेको बताए । ‘त्यो प्रणाली मध्य भारत हुँदै बहने भएकाले नेपालमा सिधा असर पर्दैन,’ ती मौसमविदले भने ।
उनका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ । भोलि र पर्सि अधिकांश भूभागमा मौसम सफा हुने सम्भावना छ ।

सम्बन्धित समाचार