बिर्तामोडमा पुनर्निर्माणका लागि सहयोग जुट्न थाल्यो
बिर्तामोड । जेन जी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणमा सहयोग रकम जुट्न थालेको छ ।
भदौ २४ गते भएको जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको हो । स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । प्रहरी नहुँदा अपराधिक गतिविधि बढ्न थालेपछि स्थानीयको पहलमा पुनर्निर्माणसँगै प्रहरी पुनर्स्थापनाको कार्य शनिबारबाट सुरु गरिएको हो ।
पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। अध्यक्ष महेन्द्र गिरीले सामाजिक सञ्जालमा लेख्दै पुनर्निर्माणका निमित्त १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै सहयोग रकम घोषणा गर्नका निमित्त बिर्तामोड उद्योग वाणिज्य सङ्घले आज बैठक आह्वान गरेको छ। पुनर्निर्माणका लागि कति रकम सहयोग गर्ने भन्ने बैठकले निर्णय गर्ने उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले बताए ।
पुनर्निर्माणकै निमित्त सहयोग गर्न वैदेशिक रोजगार व्यवसायी संघ झापा सकारात्मक देखिएको छ । संघले सदस्यहरूबाट रकमसमेत सङ्कलन सुरु गरिसकेको अध्यक्ष धनबहादुर सुब्बाले बताए ।
संरचना मर्मतका लागि सहयोग गर्न विभिन्न संघ संस्था तयार रहेका छन् ।