बिर्तामोडमा पुनर्निर्माण अभियान शुरु
बिर्तामोड । जेन जी आन्दोलनको क्रममा भदौ २४ गते भएको तोडफोडबाट क्षतिग्रस्त बिर्तामोडको संरचना पुनर्निर्माणको अभियान शुरु गरिएको छ । आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट ध्वस्त भएको बिर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुननिर्माणको कार्य थालिएको हो ।
शनिबार विहानबाट बिर्तामोडका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा पुननिर्माण अभियान शुरु गरिएको युवा व्यवसायी पदम श्रेष्ठले जानकारी दिए । चाडबाड नजिकिएसँगै सुरक्षा चुनौती बढ्ने भएकाले चाँडो पुननिर्माण सक्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । दुवै सुरक्षा निकायको फोहोर सरसफाई, विद्युत, खानेपानी, झ्याल ढोका मर्मत, रंगरोगन आदि कार्य गर्न सबै संघसंस्थालाई आह्वान गरिएको उनले बताए ।
पुनर्निर्माणका लागि सबैलाई अपनत्व ग्रहण गराउन समिति निर्माण नगरिने, आर्थिक सहयोग गर्न चाहनेहरुलाई सिधै निर्माण सामाग्री खरिद गरिएको पसलमा भुक्तानीका लागि आग्रह गरिने, जिन्सी सामान दिन चाहनेका लागि सिधै सहयोग गर्ने वातावरण तयार गरिने बताइएको छ ।
शनिबार विहान नागरिक सेवक, टिकटक कलेक्सन, विरता जेसिज, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, स्वतन्त्र नागरिक समूह, युवा उद्यमी समूहलगायत ३० भन्दा बढी संघसंस्थाको सहभागिता रहेको अर्का व्यवसायी निर्मलराज खत्रीले जानकारी दिए । संघसंस्थाका प्रतिनिधीहरुसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल अन्य प्रहरीहरुसँगै सरसफाईमा जुटेका थिए ।
आगलागीबाट ध्वस्त बनेका सवारी साधन तथा अन्य कवाडीका सामानहरु यान्त्रिक कार्यालयको जग्गामा व्यवस्थापन गरेर भवनको विजुली पानी तथा अन्य निर्माणको कार्य भइरहेको छ ।