बिर्तामोडमा प्रहरी चाहियो भन्दै संकलित हस्ताक्षर गृह मन्त्रीलाई पठाइयो
बिर्तामोड । जेन जी आन्दोलनका कारण बिर्तामोडबाट विस्थापित प्रहरी पुनस्र्थापनाका लागि संकलित हस्ताक्षर गृह मन्त्रीलाई पठाइएको छ । नागरिक सेवकले संकलन गरेको हस्ताक्षर बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रीलाई पठाइएको हो ।
बिर्तामोडमा इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नहुँदा बिर्तामोडमा अपराधिक गतिविधी बढेको साथै सवारी आवागमनमा असहजतासँगै सवारी दुर्घटनाको जोखिम बढेको भन्दै नागरिक सेवकको समुहले भदौ ३१ गते मुक्तिचोकमा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । उनीहरुले टोल टोलबाट समेत हस्ताक्षर संकलन गरेका थिए । संकलित हस्ताक्षर विहीबार सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकास प्रसाईलाई हस्तान्तरण गरिएको नागरिक सेवकका संयोजक सन्तोष घिमिरेले बताए ।
हस्ताक्षर ग्रहण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले तत्काल उक्त हस्ताक्षर गृह मन्त्रालयमा पुर्याउने बताए ।