नागरिक प्रहरी अब ‘नागरिक सेवक’, आज साँझ मुक्तिचोकमा दिप प्रज्वलन
बिर्तामोड । नागरिक प्रहरीले आफुलाई नागरिक सेवक बनाउने भएको छ । भदौ २८ गते बसेको नागरिक प्रहरीको अगुवा भेलाले नागरिक प्रहरीको नाम परिवर्तन गरि ‘नागरिक सेवक’ बनाउने भएको हो ।
‘सुरक्षा निकायबाट प्रहरी शब्दावली हटाइदिनु भन्ने सुझाव आयो,’ नागरिक प्रहरीका संयोजक सन्तोष घिमिरेले भने, ‘हामी जटिल परिस्थितीमा नागरिकको सेवामा खटिएको हुँदा प्रहरीको ठाउँमा सेवक बनाउने निर्णय गर्यौँ ।’
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पश्चात बिर्तामोड र छिमेकी पालिकाहरुमा प्रहरीको अनुपस्थितीमा अपराधिक गतिविधीमा उल्लेख्य वृद्धि भएको भन्दै युवाहरुको समूहले नागरिक प्रहरी गठन गरेका थिए । उनीहरुले आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र बिर्तामोडका सडक सरसफाई गर्नुका साथै ती स्थानमा भएका कवाडीहरु सुरक्षित गरेका थिए । उनीहरुले भाटभटेनी, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयबाट हराएका मोटरसाइकल लगायत सामानहरु गाउँ गाउँबाट संकलन गरि सम्बन्धित निकायलाई बुझाएको नागरिक प्रहरीका अगुवा खगेन्द्र महतोले बताए । ‘हामीले आधा दर्जन मोटरसाइकल, ८ राउण्ड गोली, म्यागजिन, भाटभटेनीबाट लुटिएका सामानहरु संकलन गरि नेपाली सेना र नेपाल प्रहरीलाई बुझायौँ,’ उनले भने ।
आज साँझ दिप प्रज्वलन गरिने
जेन जी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा आज साँझ नागरिक सेवकको समूहले नागरिक समाजसँगको सहभागितामा बिर्तामोडको मुक्ति चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको अर्का अगुवा याम तामाङले जानकारी दिए । मृतकहरुको आत्माको चिर शान्तिको कामनासहित सामाजिक सद्भाव कायम राख्न कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा सबै नागरिकलाई सहभागिताका लागि आग्रह गर्ने निर्णय भएको नागरिक सेवकले जनाएको छ ।