स्थानीयले लागूऔषध कारोबारमा मुछिएका खरेललाई प्रहरीको जिम्मा लगाए
बिर्तामोड । बिर्तामोड–५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरबाट ठूलो मात्रामा लागूऔषध भेटिएको घटनामा संलग्न सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेललाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।
शनिबार उनलाई बिर्तामोड–५ बसपार्क नजिकबाट स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।
प्रहरीले साउन १ गते खरेलले भाडामा सञ्चालन गरेको उक्त गोदामबाट भण्डारण गरिराखेको अवस्थामा ५ लाख ६० हजार १०४ रुपैया बराबरको १०३८०० क्याप्सुल ट्रामाडोल, ४३ हजार ९८२ रुपैया बराबरको १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ५७ हजार ३०७ रुपैया बराबरको ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, ७ लाख ४५ हजार २६३ रुपैया बराबरको टर्मिपिल किट ७६५० ट्याब्लेट, ३ लाख ९८ हजार ३७५ रुपैँया बराबरको जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ३ लाख ८८ हजार रुपैँया बराबरको ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट प्रहरीले बरामद गरेको थियो ।
तत्काल खरेल फरार भएपछि उनका कामदार अर्जुनधारा–६ दासपुल बस्ने २५ बर्षीय विनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल झापाका उपाध्यक्ष र नेकपा एमाले बिर्तामोड नगस कमिटी सदस्यसमेत रहेका खरेल राजनीतिक आवरणमा लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहँदै आएको पाइएको छ । लागूऔषध कारोबारमा खरेल संलग्न भएको समाचार बाहिरिएपछि साउन ३ गते बसेको नेकपा एमाले बिर्तामोड नगर कमिटीको सचिवालय बैठकले उनलाई नगर समिति सदस्यबाट निलम्बन गरेको थियो ।