बुधबार झापामा दुई जनाको मृत्यु
बिर्तामोड । फरक फरक घटनामा झापामा दुई जनाको मृत्यु भएको छ । बुधबार मेचीनगरमा एक जनाको हत्या भएको छ भने बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजे मेचीनगर ७ बस्ने ५० बर्षीय नारायण ज्ञवालीले आफ्नै घरमा डेरा गरी बस्ने मेचीनगर १४ का ४० बर्षीय मोहम्मद फैमोदिनलाई चक्कु प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा संलग्न नारायण र उनकी श्रीमती सुजता ज्ञवालीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
त्यस्तै बुधबार साँझ अन्दाजी ६ बजे इलामबाट झापा आउँदै गरेको प्र. ३–०२–००९ प ६०९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक भद्रपुर नगरपालिका ६ भानुचोक बस्ने ५९ बर्षीय राम श्रेष्ठ गम्भिर घाइते भएका थिए ।
उनलाई स्थानीयले देखि उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको मा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।