धुँवामय बिर्तामोड
बिर्तामोड । प्रदर्शनकारीको आगजनीका कारण झापाको बिर्तामोड धुँवामय भएको छ । बिहानैबाट निस्किएको आक्रोशित प्रदर्शनकारीले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
आक्रोशित भिडले यातायात व्यवस्था कार्यालय बिर्तामोडमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् । बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख ध्रुवकुमार शिवाकोटीको घरमा तोडफोड गर्नुका साथै एउटा गाडीमा आगजनी गरेका छन् भने वर्तमान नगर प्रमुख पवित्रादेवि महतारा प्रसाईको घरमा समेत तोडफोड गरेका छन् ।
बिर्तामोड नगरपालिकामा रहेका केहि मोटरसाइकलमा आगजनी गरेका छन् भने ३ नम्बर वडा कार्यालयको ढोका फुटाएर फर्निचर तथा कागजपत्र आगजनी गरिएको छ ।
बिर्ताबजारस्थित प्रहरी चौकी आगजनीकारण ध्वस्त बनेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवनसमेत आगजनीका कारण पूर्णरुपमा क्षति भएको छ भने नयाँ भवनको आँगनमा टायर बालेका छन् ।
इलाका प्रहरी कार्यालयमा तोडफोड शुरु गरेपछि प्रहरीले अश्रु ग्याँसका साथै हवाइ फायर र गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर यो समाचार तयार पार्दासम्म तीन जना ६ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले सडक किनारामा रहेका घेराबारा, ट्राफिक चिन्ह र सीसीटिभी फुटाएका छन् । सडकमा यत्रतत्र टायर बाल्दा बिर्तामोडको आकाशमा धुवाँको मुस्लोले भरिएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालयको सुरक्षामा गएका शसस्त्र प्रहरीको दुईवटा ट्रक प्रदर्शनकारीले फर्काइदिएका थिए भने कार्यालय भित्र रहेका केहि सुरक्षाकर्मीलाई प्रदर्शनकारीले सुरक्षा दिएर बाहिर निकालेका थिए ।