जेनजीको प्रदर्शनमा ३४७ जना घाइते
बिर्तामोड । सोमबार भएको जेनजी प्रदर्शनमा ३४७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी ११ अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी निजामती कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ । अस्पतालले १५ जना घाइतेलाई वीर र ट्रमा अस्पतालमा रिफर गरेको थियो । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक बिरामीलाई हेर्न निर्देशन दिएको छ । ट्रमामा ८ जनाले ज्यान गुमाएका छन् ।
वीर अस्पतालमा ६ जना घाइतेहरूको उपचार भइरहेको छ। एभरेस्ट अस्पतालमा १०२ जनाको उपचार भइरहेको छ । अस्पतालमा ७ जना गम्भीर घाइते छन् । मन्त्रालयका अनुसार एभरेस्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ । पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन् ।
काठमाडौं मेडिकल कलेज (केएमसी)मा ३७ जनाको उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत ६ जना शल्यक्रिया गर्नुपर्ने गम्भीर बिरामी छन् । त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ । नर्भिक अस्पतालमा ३ जना घाइते उपचाररत छन् ।
पोखराको गण्डकी मेडिकल कलेजमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना घाइतेको उपचार भइरहेको छ । झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ । विराटनगरको विराट मेडिकल कलेजमा ४ जनाको उपचार भइरहेको छ ।