बिर्तामोडमा कर्फ्यु आदेश जारी
बिर्तामोड । झापाको बिर्तामोडमा कर्फ्यु लगाइएको छ । जेनजीको आन्दोलन पश्चात जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले एक सूचना जारी गर्दै बिर्तामोड नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ । सोमबार साँझ ८:३० बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । पूर्वमा बसपार्क, पश्चिममा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
पशुको समयमा आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जनाएका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले सोमबार बिर्तामोडमा गरेको प्रदर्शनमा प्रहरीले गोलीप्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
