झापाका युवा व्यवसायी चिमरिया थाइल्याण्डमा पुरस्कृत
झापा । झापा मेचीनगरका युवा व्यवसायी सुमन चिमरिया थाइल्याण्डको राजधानी बैंककमा सम्मानित भएका छन् । बैंककस्थित प्रिन्सटन होटलमा सम्पन्न ‘युएनआईपी युएन ग्लोरी अवार्ड २०२५’ कार्यक्रममा व्यवसायी चिमरिया अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
लायन्स क्लब अफ धाइजन–चारआलीका अध्यक्षसमेत रहेका चिमरिया रितिका डेरी उद्योग, चिमरिया ब्रदर्स डेरी एण्ड फुड प्रोडक्ट प्रालि र कर्मशील कृषि फर्मका संचालक हुन् । लामो समयदेखि पारिवारिक रूपमा व्यवसायिक नेतृत्व गर्दै आएका उनले दुग्धजन्य पदार्थ र बेकरी क्षेत्रमा ‘पन्चामृत ब्राण्ड’लाई परिचित मात्र होइन, स्थापित ब्राण्डका रूपमा स्थापित गरेका छन् । स्थानीय किसानसँग सहकार्य गर्दै कच्चा पदार्थ संकलन गर्ने, उत्पादनलाई गुणस्तरीय बनाउने र बजारसम्म पुर्याउने कार्यमा उनले देखाएको लगनशिलता झापा क्षेत्रमा मात्र नभई देशभर नै चर्चित बन्दै गएको छ । चिमरिया बेकरी व्यवसायी संघ झापाका अध्यक्षसमेत हुन् ।
युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस समारोहमा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानव अधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अभियन्ताको उपस्थितिमा विभिन्न क्षेत्रका २७ जनालाई सम्मान गरिएको थियो ।
नेपालको तर्फबाट १३ जना व्यक्तित्वलाई सम्मान दिइएको कार्यक्रममा चिमरियालाई विशेषतः कृषिमा आधारित उद्योगलाई प्रोत्साहन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन गरेको योगदानका आधारमा उत्कृष्टता पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार ग्रहण गर्दै चिमरियाले नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि, अनुसन्धान र बजारमैत्री योजनासँग जोड्न सके मात्र देशको समृद्धिको आधार बलियो हुने बताएका थिए । उनले यस पुरस्कारलाई आफ्ना प्रयासहरूको मात्र नभई सम्पूर्ण कृषक समुदायको परिश्रमप्रतिको सम्मानको रूपमा लिएको बताए ।