नेम्बाङको पार्थिव शरिर श्रद्धाञ्जली पश्चात पाँचथर लगियो
बिर्तामोड । नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य मोहन नेम्बाङ ‘सञ्चार’ को पार्थिव शरिर झापामा श्रद्धाञ्जली पश्चात अन्त्येष्टिका लागि पाँचथर लगिएको छ ।
केहि दिन अघि मस्तिष्कघात भएका नेम्बाङको बुधबार निधन भएको थियो । उनको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्र झापाको कार्यालय परिसरमा बिहीबार बिहान राखिएको थियो ।
माओवादी केन्द्र झापाले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज साबित्रीकुमार काफ्ले (समर)ले गणतन्त्र प्राप्तिमा नेम्बाङको अतुलनीय योगदान रहेको स्मरण गरे । समाजवादी क्रान्तिको यात्राको सहयात्रा गर्ने क्रममा नेम्बाङ अत्यन्त सालीन, शान्त र निष्ठावान नेताको रुपमा रहेको उनले बताए । विज्ञानले मृत्यु सार्न सकेपनि टार्न नसक्ने भन्दै उनले नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङले कम उमेरमा एउटा सहयोद्धालाई गुमाउनु पर्दा असैह्य पीडाबोध भएको बताए । उनले नेम्बाङले पार्टीमा गरेको योगदानको चर्चा गरे । नेम्बाङबाट सहयात्रीहरुले सिक्नु पर्ने थुप्रै उदाहरणहरु रहेको बताउँदै तामाङले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।
श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्रीहरु झलकसिंह दर्लामी र दुर्गाप्रसाद चापागाई, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, प्रदेश उपाध्यक्ष विजय सम्पाङ, नेकपाका केन्द्रीय सदस्य सुमन सिं, नेकपा समाजवादी झापाका निवर्तमान अध्यक्ष बेदराज रेग्मीलगायत पार्टीका विभिन्न तहका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
नेम्बाङको निधनप्रति समवेदना व्यक्त गर्दै पार्टीले तीन दिन झण्डा आधा झुकाउने र सबै पालिकाहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नी)ले जानकारी दिए ।
२०३८ साल कात्तिक ४ गते पाँचथरको लुङरुपामा जन्मिएका नेम्बाङको भदौ १८ गते ११ बजे ग्रिन सिटी अस्पताल काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो । २०५८ सालदेखि पार्टीको पूर्णकालिन सदस्य भएर काम गरेका नेम्बाङ जनयुद्धमा जनमुक्ति सेनाको १९औँ बटालियनका भाइस कमाण्डर भएर काम गरेका थिए भने हाल प्रदेश समिति सचिवालय सदस्यको रुपमा जिम्मेवारी सम्हालिरहेका थिए ।
उनकी श्रीमती मंगली आङ्देम्बे र ४ छोराछोरी रहेका छन् । उनको आजै जन्मस्थान लुङरुपा पाँचथरमा अन्त्येष्टि गरिने पारिवारिक स्रोेतले जनाएको छ ।