२०८३ बैशाख १८ गते , शुक्रबार
माटो निकाल्न खनेको खाल्डोमा डुबेर महिलाको मृत्यु
बिर्तामोड । कमेरो माटो निकाल्न खनेको खाल्डोमा डुबेर कचनकवलमा एक महिलाको मृत्यु भएको छ ।
आज साँझ ५ बजे कचनकवल गाउँपालिका वडा नं २ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारी राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारु राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् ।
माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । स्थानीयले मृत अवस्थामा देखेर प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । मृतक उजारी छारे रोगबाट पीडित भएको स्थानीयवासीले बताएका छन् ।