कृषकको आन्दोलनपछि लच्कियो सरकार, अनुदान रकम निकासा
झापा । सरकारले उखु किसानहरूलाई प्रोत्साहन,अनुदान बापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो ।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्री परिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गरेको थियो ।
यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् । यस अघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए ।
कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्री परिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
यसैबिच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बिच सिहंदरबार स्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
त्यस्तै उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन् ।