ज्ञानेन्द्र शाह सपरिवार झापामा, स्वागतमा गएनन् राप्रपा नेता
बिर्तामोड । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आएका छन् । सोमबार बुद्ध एयरमार्फत चन्द्रगढी हुँदै सपरिवार झापाका आएका उनी १० दिन झापा बस्ने कार्यक्रम रहेको छ ।
शाह चन्द्रगढी विमानस्थलबाट सिधै दमक नगरपालिका –९ मा रहेको हिमालयन महालक्ष्मी टिइस्टेट तर्फ लागेका छन् । जहाँ शाहको स्वामित्वमा रहेको चिया बगान र मिनी दरबार रहेको छ ।
शाह परिवारलाई लिनका लागि बा.२१ च ७३१८, बा. ६ च २८२९, बा. प्र–०१–०२७ च ६१७१ , बा. १७ च ७३६२ , बा. १ झ १४८४, बा. १७ च २६७६ र बा. ४ च ६९७६ ,बा. १ झ ३९१३ आठवटा गाडीसहित सुरक्षकर्मी र समर्थक विमानस्थल पुगेका थिए । शाहका साथमा कोमल शाह, छोरी प्रेरणा शाहलगायत छ जना छन् ।
शाह परिवारलाई चन्द्रगढी विमानस्थलमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, पूर्व श्रम तथा पूर्वाधार विकास सहायकमन्त्री टेकनारायण राजवंशीले स्वागत गरेका थिए ।
त्यस्तै परिषद उपाध्यक्ष बल्लवप्रसाद दाहाल, मोरङ अध्यक्ष पुष्पराज दहाल, सुभद्रा गेलाल, ज्वाला दाहाल, पप्पुलाल चौधरी, सन्दिप घिमिरे लगायतले शाह परिवारका सदस्यलाई स्वागत गरेका थिए । उपप्रमुख कार्की, राजवंशी, गेलाल र ज्वाला बाहेक सबै झापा बाहिरका व्यक्ति हुन् ।
शाह र उहाँको परिवार झापा आउँदा ठूलो संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता तामझामका साथ स्वागतका लागि विमानस्थल पुग्ने गरेका थिए । यसपटक त्यो भीडभाड थिएन । सुरुङ्गामा पार्टीको कार्यक्रम चलिरहेको राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझाले बताए ।
उनले नितान्त पारिवारिक र व्यक्तिगत कामका लागि शाह परिवार झापा आएको बताए । ओझाले भने, ‘उहाँ झापा आउने कुरा कहिँकतैबाट पार्टीलाई आधिकारिक रूपमा सूचना थिएन, त्यसले पनि हामी गएनौँ, स्वागतका लागि भद्रपुरको उमप्रमुख जानुभएको थियो, स्वागतमा नजादैमा पार्टीले राजसंस्थाको मुद्दा छाड्यो भन्न मिल्दैन ।’
यसअघि परिवारसहित शाह काठमाडौमा राजावादीहरुको आन्दोलन चलिरहेका बेला झापा आएका थिए । जेठको दोस्रो साता झापा आएको शाह परिवार त्यसबेला १५ दिन दमक बसेको थियो । काठमाडौको तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको आन्दोलन पछि शाह परिवार पहिलोपटक उपत्यका बाहिर निस्केको हो ।