व्युटीपार्लर, ट्रेनिङ सेन्टर लगायतले वैदेशिक रोजगारको काम गरेको भन्दै ज्ञापन पत्र
बिर्तामोड । फरक उद्धेश्यले खोलिएका संस्थाहरुले वैदेशिक रोजगारको काम गरेको र ठगी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यवसायी संघले सोमबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको हो ।
व्युटिपार्लर, ट्रेनिङ सेन्टर, कन्सल्टेन्सी, ट्राभल एजेन्सी लगायतले तालिम दिने बहानामा पासपोर्ट होल्ड गर्ने र वैदेशिक रोजगारको काम गर्दा ठगीको घटना बढेको भन्दै अनुगमन, नियमन र नियन्त्रणको माग राखि संघले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । वैदेशिक रोजगारको काम गर्न नपाउने त्यस्ता अवैधानिक संस्थाले करिब ६० प्रतिशत राहदानी होल्ड गर्ने, अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउने र त्यस्ता अवैधानिक व्यक्ति तथा संस्थाबाट अत्यधिक ठगीमा कामदारहरु पर्ने गरेको अध्यक्ष धनबहादुर पंधाक र महासचिव निरकुमार खत्री (निरन)द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष पंधाकको नेतृत्वमा गएको संघको टोलीले प्रजिअ अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले मेनपावरका शाखा कार्यालयहरुका लागि जारी गरेको सूचना
जिल्लामा सञ्चालित वैदेशिक रोजगार व्यवसायी संघका शाखा कार्यालयहरुलाई १० दिनको अवधि राखेर आवश्यक कागजात बुझाउन जिल्ला प्रशासन कार्यालयले साउन २२ गते पत्राचार गरेसँगै गएको संघको टोलीले तीन बुँदे अनुरोधसमेत गरेको छ । बार्षिक १०० भन्दा कम कामदार पठाउने मेनपावरको नविकरणका लागि समय लाग्ने भएकाले कागजात बुझाउने समय १० दिनबाट बढाएर ४५ दिन पुर्याउन, संघमा आबद्ध संस्थाको बिषयमा गुनासो आएमा संघलाई सहजीकरण गर्न दिन मिल्ने भए सहजीकरणको व्यवस्था गरिदिन र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सूचनाको प्रकरण ‘ङ’ र ‘च’ को हकमा प्रधान कार्यालयबाट नै गर्ने गराउने जानकारी गराएको छ ।
हेर्नुहोस ज्ञापन पत्र

