पर्यटक भिसामा आएर मुस्लिम धर्म प्रचार गरेको आरोपमा ३ महिला पक्राउ
काठमाण्डौ । पर्यटक भिसा र अध्ययन भिसामा नेपाल आएर शंकास्पद् गतिविधि गर्ने इन्डोनेशियाका तीन जना महिलाहरू पक्राउ परेका छन् । पर्यटक र अध्ययन भिसामा आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अध्यागमन स्रोतका अनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका हुन् । तर, कुनै पनि शैक्षिक संस्थामा उनीहरू भर्ना नभएको अनुसन्धानबाट खुलेको छ । अध्ययन भिसामा आएर उनीहरू ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेशी समाजमा गर्ल्स होस्टेल चलाउने र ती महिलाहरूलाई शिक्षकको रूपमा राखिएको पाइएको अध्यागमन स्रोतको भनाइ छ ।
उनीहरूले त्यहाँ टर्कीस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्मको प्रचारप्रसार पनि गर्ने गरेको पाइएको अध्यागमन विभाग स्रोतको भनाइ छ । उक्त संस्थाले अन्तर्राष्ट्रिय संस्थाबाट धर्म प्रचारका नाममा प्रत्येक वर्ष दुई करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
अध्यागमन विभागका अनुसार उक्त होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइराखेका बेला इन्डोनेसियाका ती महिलाहरूलाई पक्राउ गरिएको थियो । ती छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन नगरेको पाइएको विभागको भनाइ छ । त्यस्तै ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेलसमेत राखी विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने र धर्मको प्रचारप्रसार गरेको पाइएपछि उनीहरूविरुद्ध थप अनुसन्धान गरिरहेको छ ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले काम गर्न पाइँदैन । अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखत अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न सक्ने र कब्जामा लिनसक्ने व्यवस्था छ ।
अध्यागमन नियमावली, २०५१ मा पर्यटक भिसामा बसेको विदेशी नागरिक र परिवारको सदस्यले कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न नपाउने व्यवस्था छ । विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाइने छैन भन्ने व्यवस्था छ ।
गैरकानुनी रूपले बसेका विदेशीलाई अनुसन्धानपश्चात् महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ ।