दमकमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
बिर्तामोड । झापाको दमकमा मालबहाक ट्रकको ठक्करबाट श्रीमतीको निधन भएको छ भने श्रीमान घाइते भएका छन् । मंगलबार बिहान भएको दुर्घटनामा परि कमल गाउँपालिका ५ की ४३ बर्षीया मुना गौतमको निधन भएको छ भने ४३ बर्षीय श्रीमान सुकदेव गौतम सामान्य घाइते भएका हुन् ।
मंगलबार बिहान ८ बजे दमक–७ पशुहाटस्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट पाडाजुँगी तर्फ बन्दाकोपी लिएर आउँदै गरेको प्र १–०२–००२ ख ०९१२ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको प्र १–०१–०१२ प ०३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार मुनाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल मृतकका श्रीमान सुकदेवको बाँया खुट्टामा सामान्य चोट लागि उपचारको लागि दमक अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ । ट्रक चालक तेह्रथुम लालिगुँरास नगरपालिका ४ बस्ने बर्ष २५ को आङदावा शेर्पा, ट्रक र मोटरसाइकल इप्रका दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।